फेयरफोर्ड वायुसेना अखडानजिकको घटनामा इरानको संलग्नता : बेलायत

Image

बेलायती प्रधानमन्त्री एन्डी बर्नामले रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्ड वायुसेना अखडानजिक भएको शंकास्पद घटनामा इरानको भूमिका रहेको बताएका छन् । उक्त घटनाको अनुसन्धान अहिले बेलायतको आतंकवादविरोधी प्रहरीले गरिरहेको छ । 

आइतबार फेयरफोर्डनजिकैको वेल्फोर्ड गाउँबाट पाँच बेलायती नागरिक पक्राउ परेका थिए । २० देखि २५ वर्ष उमेर समूहका उनीहरूलाई विस्फोटक पदार्थसम्बन्धी अपराध तथा आतंकवादी कार्यको तयारी गरेको आशंकामा नियन्त्रणमा लिइएको थियो । यद्यपि, उनीहरूलाई सोमबार कडा धरौटी सर्तमा रिहा गरिएको छ ।

फेयरफोर्ड अखडालाई अमेरिकी वायुसेनाले पनि सैन्य गतिविधिका लागि प्रयोग गर्दै आएको छ । संदिग्धहरूलाई पक्राउ गरेको भोलिपल्टै धरौटीमा रिहा गरिएको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले चासो र प्रश्न उठाएका छन् । 

प्रधानमन्त्री बर्नामले पत्रकारहरूसँग कुरा गर्दै फेयरफोर्ड घटनामा इरानको संलग्नता रहेको ‘बलियो संकेत’ मिलेको दोहोर्‍याए । तर, अनुसन्धान जारी रहेकाले अहिल्यै थप विवरण सार्वजनिक गर्न नमिल्ने उनको भनाइ छ ।

यस विषयमा उनले सोमबार क्याबिनेट कार्यालयमा आपत्कालीन बैठकको अध्यक्षता समेत गरेका थिए । बेलायती सरकारले अनुसन्धानका लागि अमेरिकी अधिकारीहरूसँग पनि समन्वय भइरहेको जनाएको छ । 

अर्कोतर्फ, इरानले भने यस घटनामा आफ्नो संलग्नता पूर्ण रूपमा अस्वीकार गरेको छ । लन्डनस्थित इरानी दूतावासले बेलायतको आरोपको खण्डन गर्दै यसलाई इरानविरोधी प्रचारको संज्ञा दिएको छ । 

घटनामा संलग्न पाँचैजनालाई पक्राउ गरेको भोलिपल्ट धरौटीमा रिहा गरिएको विषयमा प्रश्न उठेपछि बर्नामले उनीहरू सामान्य अवस्थामा रिहा नभएको बताएका छन् । उनका अनुसार, उनीहरूमाथि कडा धरौटी सर्त लागु गरिएको छ र सुरक्षा निकायले घटनालाई नजिकबाट निगरानी गरिरहेको छ ।

यसैबीच, पक्राउ परेकामध्ये एकजनाले घटनाभन्दा करिब एक घण्टाअघि आफैँ प्रहरीको आपत्कालीन नम्बरमा फोन गरेको विवरण सार्वजनिक भएको छ ।

आतंकवादविरोधी प्रहरीले फेयरफोर्डनजिक रोकिएका तीनवटा भ्यानको अनुसन्धान गरेको थियो । गाडीमा कुनै विस्फोटक उपकरण नभेटिएको तर केही मात्रामा पेट्रोल तथा अन्य सामग्री फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीले घटनाको उद्देश्य र पक्राउ परेकाहरूको सम्भावित विदेशी सम्बन्धबारे अनुसन्धान जारी राखेको छ । बेलायती अधिकारीहरूले इरानको संलग्नताको ‘बलियो संकेत’ रहेको बताए पनि अनुसन्धानले त्यसको विस्तृत प्रमाण वा घटनामा उनीहरूको ठोस भूमिका सार्वजनिक गरिसकेको छैन ।