चिनियाँ आक्रमणको खतराबीच ताइवानले भित्र्यायो एफ–१६भी लडाकु विमान

Image

अमेरिकाबाट खरिद गरिएका एफ–१६भी ‘ब्लक ७०’ लडाकु विमानको पहिलो खेप ताइवान पुर्‍याइएको छ । चीनबाट बढ्दो सुरक्षा चुनौतीबीच आफ्नो रक्षा क्षमता सुदृढ गर्ने प्रयासस्वरूप ताइवानले यी विमान भित्र्याएको हो ।

सन् २०१९ मा अमेरिकासँग भएको करिब आठ अर्ब डलरको सम्झौताअन्तर्गत खरिद गरिएका ६६ विमानमध्ये दुईवटा शुक्रबार ताइवान पुगेका हुन् । अमेरिकाको हवाई राज्य र गुआम हुँदै लगिएका विमान ताइतुङनजिकैको चिहहाङ हवाई अखडामा अवतरण गरेका थिए ।

थप विमान हस्तान्तरणको प्रक्रिया जारी छ । यस वर्षको अन्त्यसम्ममा थप विमान प्राप्त हुने ताइवानका रक्षामन्त्री वेलिङ्टन कुले बताएका छन् । उत्पादन र परीक्षण पूरा भएका विमानहरू क्रमिक रूपमा ताइवानलाई हस्तान्तरण गरिने उनले उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा उनका चिनियाँ समकक्षी सी चिनफिङको आतिथ्य गरेको एक सातापछि एफ–१६भी ताइवान पुगेका हुन् । अमेरिकाले चीन–ताइवानसम्बन्धी आफ्नो नीतिमा परिवर्तन नभएको भन्दै आएको छ । ट्रम्पले ताइवानका निम्ति प्रस्तावित १४ अर्ब डलरको नयाँ रक्षा प्याकेजमा हस्ताक्षर रोकेका छन् ।

लकहीड मार्टिनले निर्माण गरेको एफ–१६भी अत्याधुनिक एभियोनिक्स र राडार प्रणालीले सुसज्जित छ । ताइवानले चिनियाँ वायुसेनाका लडाकु विमान, विशेष गरी स्टिल्थ जे–२० को सामना गर्न यी विमान महत्त्वपूर्ण हुने अपेक्षा गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले एफ–१६भी ताइवान पुगेको विषयमा तत्काल प्रतिक्रिया जनाएको छैन ।

अमेरिकी अधिकारीहरूले सन् २०२८ अघि चीनले ताइवानमाथि आक्रमण गर्ने सम्भावनालाई वासिङ्टनमा कम आकलन गरिएको बताएका रोयटर्सले जनाएको छ ।