अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, नौजनाको मृत्यु

Image

पाकिस्तानले गए राति अफगानिस्तानका दुई प्रान्तमा हवाई आक्रमण गरेको छ । आक्रमणमा परी नौजनाको मृत्यु भएको छ । ११ जना घाइते भएका अफगानिस्तानको तालिबान सरकारले जनाएको छ ।

तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी विमानहरूले दक्षिणी हेलमन्द र पूर्वी कुनार प्रान्तमा सर्वसाधारणका घरहरूलाई निसाना बनाएको जानकारी दिए । आक्रमणबाट तीन घर पूर्ण रूपमा नष्ट भएको उनले बताए । पाकिस्तानको यो कदमलाई उनले आक्रामकता र अन्तर्राष्ट्रिय सिद्धान्तको उल्लंघनको संज्ञा दिए ।

अर्कातिर, पाकिस्तानको सूचना मन्त्रालयले आफ्नो हवाई आक्रमण आतंकवादी अखडा र क्याम्पहरूलक्षित रहेको जनाएको छ । प्रारम्भिक रिपोर्टमा २२ आतंकवादी मारिएको दाबी गरिएको छ । मन्त्रालयले ती अखडाहरूबाट ठूलो परिमाणमा हतियार तथा गोलाबारुद बरामद गरी नष्ट गरिएको जनाएको छ ।

पाकिस्तानले आफ्ना कारबाहीमा सर्वसाधारणलाई निसाना नबनाइने र आतंकवादी अखडाहरूमा मात्र आक्रमण गरिने स्पष्ट पारेको छ ।