पर्वतमा बाढीपहिरोका कारण करिब तीन सय परिवार विस्थापित भएका छन्। जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ।
जिल्लाका सात पालिकामध्ये छ पालिकाका विभिन्न बस्तीमा बाढीपहिरोले क्षति पुर्याएको हो। सबैभन्दा बढी क्षति जलजला गाउँपालिकामा भएको छ। त्यहाँ ११३ घरमा क्षति पुगेको छ भने ५८ घर पहिरोको उच्च जोखिममा छन्। जलजलामा मात्रै १७१ परिवार विस्थापित भएका छन्।
कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी गाउँपालिकामा १५ घर पूर्ण रूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए।
बाढीपहिरोका कारण पाँच विद्यालय भवनसहित कृषि फार्म, मन्दिर, स्वास्थ्य संस्था र प्रहरी चौकीमा समेत क्षति पुगेको छ। पर्वत–बागलुङ जोड्ने झोलुङ्गे पुल तथा मध्यपहाडी लोकमार्गअन्तर्गत मालढुङ्गा पुलमा पनि क्षति भएको प्रशासनले जनाएको छ।
बाढीपहिरोका कारण जिल्लाका ग्रामीण सडक अझै अवरुद्ध छन्। कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास–बिहादी र लुङ्खुदेउराली–हुवास सडक सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए।
विस्थापित परिवारका लागि स्थानीय प्रशासन, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी तथा विभिन्न सामाजिक सङ्घसंस्थाले राहत वितरण गरिरहेका छन्। प्रभावितलाई त्रिपाल, खाद्यान्न, भाँडावर्तन, ओढ्ने–ओछ्याउने सामग्रीका साथै सरसफाइ र स्वास्थ्य उपचार सामग्री उपलब्ध गराइएको छ।












