हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

Image

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी सवस्टेशनको निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले सवस्टेसनमा निर्माणाधीन हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनका दुईटा मल्टिसर्किट टावरको कार्यप्रगति विवरणको ब्रिफ्रिङ लिएका थिए ।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरूदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्न निर्देशन दिए । करिब १२ वर्षदेखि अड्किएको हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अगाडि बढाउन मन्त्री श्रेष्ठले मन्त्रिपरिषदबाट निर्णय गराएर प्रक्रिया अगाडि बढाएका थिए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले १२ वर्षदेखि अड्किएको हेटौँडा–ढल्केबर प्रसारण लाइनको काम मन्त्री श्रेष्ठको पहलमा अगाडि बढेर अन्तिम चरणमा पुगेको बताए ।

उनकाअनुसार हेटौँडा–ढल्केबर प्रसारण लाइनका १६ वटा टावरमध्ये १४ वटा डबल सर्किटको टावर निर्माण भइसकेको छ । दुईटा मल्टिसर्किट टावर अन्तिम चरणमा छ ।

‘१४ वटा टावर तयार भइसक्यो । बाँकी दुइटा टावरको कार्यप्रगति राम्रो छ । १०–१५ दिनमै तयार गरेर चार्ज गर्छौँ । यसलाई ब्याक बोनको रूपमा लिएका छौँ । जसले गर्दा सम्पलाईको रिलायबिलिटी एकदमै बढेर जान्छ । खपत पनि बढाउन सक्छौँ भने निर्यात पनि बढाउन सक्छौँ । दसैँलगत्तै चार्ज गर्ने तयारी छ’, कार्यकारी निर्देशक श्रेष्ठले भने ।

मन्त्री श्रेष्ठले हेटौँडा–ढल्केबर प्रसारण लाइन नेपालको ऊर्जाको मेरुदण्डकै रूपमा रहेको बताए । उनले यो प्रसारण लाइन बनिसकेपछि नेपालको ऊर्जा धेरै सन्तुलित हुने र गुणस्तरीय हुने बताए ।

मन्त्री श्रेष्ठले हेटौँडा–ढल्केबर खण्ड सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप सुदृढ, भरपर्दो र दिगो हुने र यसले देशभित्रको विद्युत् आपूर्ति प्रणाली बलियो बनाउनुका साथै बढ्दो औद्योगिक विद्युत् माग सम्बोधन गर्न अन्तर्देशीय विद्युत व्यापार र वर्षायाममा उत्पादन हुने विद्युत् खेर जान नदिन समेत महत्वपूर्ण भूमिका खेल्ने बताए । आयोजना सम्पन्न हुँदा राष्ट्रिय ग्रिडको विश्वसनीयता र विद्युत् व्यापारको सम्भावना पनि थप विस्तार हुने उनको भनाइ छ ।