भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

Image

सशस्त्र प्रहरी बल पर्साले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको १५ लाख २८ हजार ४२० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिर नजिकको सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा ल्याउँदै गरेको नौ लाख २२ हजार ५०० रुपैयाँ बराबरको औषधि नियन्त्रणमा लिएको हो। बरामद औषधि आज वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

त्यस्तै, सोही गणबाट खटिएको अर्को टोलीले वीरगञ्ज–१६ बाट तीन लाख दुई हजार ९६० रुपैयाँ बराबरको तरकारी तथा मोटरसाइकल नियन्त्रणमा लिएको छ। उक्त सामान पनि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं. १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिए।

यसैगरी, सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज–१६ स्थित इनर्वा सीमा क्षेत्रबाट एक लाख ७७ हजार ८६० रुपैयाँ बराबरको कपडा तथा जुत्ता बरामद गरेको छ।

पर्साकै जगरनाथपुर गाउँपालिका–२ स्थित लक्ष्मीपुर चोकमा सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी ल्याइएको एक लाख २५ हजार १०० रुपैयाँ बराबरको सामानसहित मोटरसाइकल नियन्त्रणमा लिएको छ। उक्त सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार विभिन्न सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको हो।