नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

Image

बडादसैँअन्तर्गत दुर्गा पक्षको छैटौँ दिन आज नवदुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको पूजा गर्ने परम्परा छ।

पौराणिक मान्यताअनुसार देवकार्य सम्पन्न गर्न भगवती देवी कात्यायन ऋषिको आश्रममा सुन्दरी कन्याका रूपमा प्रकट भएकी थिइन्। उनको बालसौन्दर्यबाट प्रभावित ऋषिले पुत्रीका रूपमा स्वीकार गरेपछि उनको नाम कात्यायनी रहेको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँ घर तथा पूजा कोठामा जौको जमरा राखेर नवदुर्गाको पूजा आराधना सुरु गरिएको थियो। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाता देवीको पूजा गरिएको थियो। छैटौँ दिन आज कात्यायनी देवीको आराधना गरिँदैछ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वासका आधारमा आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा गरिन्छ।

नवदुर्गाका नौ स्वरूपमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री रहेका छन्। नवरात्रका प्रत्येक दिन यी देवीका अलग-अलग स्वरूपको पूजा आराधना गर्ने चलन छ।

यस अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गरेको छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, नक्साल भगवती, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बगलामुखीलगायत शक्तिपीठमा भक्तजन पुग्ने गरेका छन्।

त्यसैगरी उपत्यकाबाहिरका पलाञ्चोक भगवती, नाला भगवती, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका र उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनले पूजा आराधना गर्ने परम्परा छ।

नवरात्रका नौ दिन पूजा गरिएको प्रसादका रूपमा जमरा र टीका विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन छ। कतिपय समुदायमा भने कुल परम्पराअनुसार विजयादशमीका दिनमात्र टीका र जमरा लगाउने गरिन्छ। धर्मशास्त्रविद्हरूका अनुसार दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रूपमा टीका र जमरा लगाउन सकिने धार्मिक व्यवस्था छ।

यसरी आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म नेपालीले विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार बडादसैँ पर्व मनाउने गर्छन्।