लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। उनलाई शनिबार ललितपुरको सानेपाबाट पक्राउ गरिएको हो।
स्रोतका अनुसार भट्टलाई सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ गरिएको हो। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले भट्ट पक्राउ परेको पुष्टि गरेका छन्। एसएसपी घिमिरेका अनुसार भट्टमाथि थप अनुसन्धान भइरहेको छ।
सुशील भट्ट सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका दीपक भट्टका दाइ हुन्। दीपकलाई चोलेन्द्र पक्राउलगत्तै ललितपुरको नक्खु कारागारबाट सिन्धुपाल्चोक सारिएको छ।
शनिबार पक्राउ गरिएका सुशील भट्टलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षाका लागि भन्दै प्रहरी कार्यालय ल्याएर सुरु भएको अनुसन्धान ईनम सपकोटासम्म पुगेको थियो । जबरासँग भट्टको समेत कुराकानी भएको देखिएको थियो ।
जेलमा रहेका दीपक भट्टलाई छुटाउने प्रयासस्वरूप भट्टले सपकोटासँग कुराकानी गरेको र सपकोटाले जबरामार्फत छुटाउने वातावरण बनाउन खोजेको प्रहरी अधिकारीहरूको आशंका छ ।















