फ्रान्समा खस्कँदो शिक्षा स्तर र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० भन्दा बढी पक्राउ

Image

फ्रान्समा विद्यालयको दयनीय अवस्था, कर्मचारी अभाव र बढ्दो महँगीविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेको छ। शनिबार देशभर भएका प्रदर्शनका क्रममा कम्तीमा १ हजार २०० जना पक्राउ परेका छन् भने १५० जना प्रहरी घाइते भएका छन्।

फ्रान्सेली सरकारका अनुसार देशभर करिब ५ लाख ५० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न सहरमा आगजनी, तोडफोड र लुटपाटका घटना भएका छन्।

पेरिसमा प्रदर्शनकारी र दंगा नियन्त्रण प्रहरीबीच साँझसम्म झडप भएको थियो। भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। विभिन्न स्थानमा भवन तथा सवारीसाधनमा आगजनी गरिएको छ भने पसलहरूमा लुटपाट भएको छ।

लिमोज सहरको नगर भवनमा लागेको ठूलो आगोका कारण छानाको केही भाग भत्किएको स्थानीय अधिकारीहरूले बताएका छन्। त्यस्तै, लियोनमा रहेको पर्यटकीय सूचना केन्द्रमा समेत आगजनी भएको छ। लियोनका मेयर ग्रेगोरी डुसेले ऐतिहासिक भवनमा भएको आगजनीलाई सहरका लागि ठूलो क्षति र दुःखद घटना भनेका छन्।

फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार पेरिस, मार्से, रेनेस, टुलुज र आन्जेसहित विभिन्न सहरमा मुख छोपेका व्यक्तिहरूले हिंसात्मक गतिविधि गरेका थिए। ग्रेनोबल, एभिन्योन, पाउ, मोन्टपेलियर र भालेन्समा पनि भवनहरूमा क्षति पुगेको खबर छ। पेरिसमा कपडा तथा खाद्यान्न पसलहरूमा लुटपाट भएको छ भने लिले सहरमा एप्पलको एउटा पसल तोडफोड गरी सामान लुटिएको छ।

दक्षिणपूर्वी सहर सेन्ट-इटियनका मेयर रेजिस जुआनिकोका अनुसार प्रदर्शनका क्रममा ग्रिनेड विस्फोट हुँदा एक युवकको हात चुँडिएको थियो। स्थानीय प्रहरीले आगो नियन्त्रण गर्न पुगेका अग्निनियन्त्रकलाई समेत केही व्यक्तिले सुरक्षित रूपमा काम गर्न नदिएको जनाएको छ।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले प्रहरीमाथि अत्यन्त तीव्र हिंसा भएको बताएका छन्। प्रदर्शनलाई राष्ट्रपति निर्वाचनको तयारीका रूपमा प्रयोग गर्न खोजिएको उनको आरोप छ। राष्ट्रपति इमानुएल म्याक्रोंले सरकारी कार्यालय, व्यवसाय र नगर भवनमा आक्रमण तथा लुटपाट गर्नेहरूलाई कानुनी कारबाही गरिने बताएका छन्।

विद्यालयको अवस्था र महँगीविरुद्ध आन्दोलन

फ्रान्समा पछिल्ला केही सातादेखि माध्यमिक विद्यालयमा कर्मचारी अभाव र भौतिक संरचनाको कमजोर अवस्थाविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गर्दै आएका छन्। शनिबारको प्रदर्शनमा विद्यार्थीका साथै ट्रेड युनियन र विभिन्न आन्दोलनरत समूह सहभागी भएका थिए।

सन् २०१८ देखि महँगीविरुद्ध आन्दोलन गर्दै आएको ‘येलो भेस्ट’ समूहका सदस्यहरू पनि प्रदर्शनमा सहभागी भएका थिए। सरकारले आन्दोलन मत्थर पार्ने प्रयासस्वरूप शिक्षा क्षेत्रमा थप ३ हजार अस्थायी शिक्षक उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। शिक्षामन्त्री एडुवार्ड गेफ्रेले अक्टोबर ८ मा टेलिभिजन अन्तर्वार्ताका क्रममा उक्त प्रतिबद्धता जनाएका थिए। तर, त्यसपछि पनि प्रदर्शन रोकिएको छैन।

आगामी राष्ट्रपति निर्वाचनको छायामा आन्दोलन

राष्ट्रपति म्याक्रोंको कार्यकाल आगामी वर्ष सकिँदै गर्दा फ्रान्समा राजनीतिक अनिश्चितता बढिरहेको छ। आगामी अप्रिलमा हुने राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्ने संकेत देखिएको छ।

सर्वेक्षणहरूले नेसनल र्‍यालीकी नेतृ मरिन ले पेन र वामपन्थी दल ला फ्रान्स इन्सुमिसका नेता जिन-लुक मेलाँसोंबीच प्रतिस्पर्धा हुन सक्ने देखाएका छन्।

प्रदर्शनमा सहभागी मेलाँसोंले प्रहरीले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको आरोप लगाएका छन्। यद्यपि उनले आगजनी र लुटपाटको निन्दा गरेका छन्। प्रधानमन्त्री लेकोर्नुले मेलाँसोंको अभिव्यक्तिलाई ‘खतरनाक र अवसरवादी’ टिप्पणी भनेका छन्। ले पेनले भने अतिवामपन्थी समूहले प्रदर्शनकारीका जायज मागलाई बन्धक बनाएको र हिंसा भड्काउन मेलाँसोंको भूमिका रहेको आरोप लगाएकी छन्।

विद्यालयको कमजोर अवस्था र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलनमा विभिन्न राजनीतिक समूहको सहभागिता बढ्दै जाँदा फ्रान्समा सार्वजनिक सुरक्षा र आगामी राष्ट्रपति निर्वाचनको वातावरणबारे चिन्ता थपिएको छ।