काठमाडौंको माछापोखरी चोकमा आपसी विवादका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकमा शुक्रबार मध्यराति दुई जनाबीच झगडा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकार र नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई मनमैजु बस्ने २० वर्षीय सुवाश तामाङबीच झगडा भएको थियो।
झगडाका क्रममा सुवाश तामाङ लडेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल लगिएकोमा शनिबार दिउँसो १३:३० बजे उपचारका क्रममा मृत्यु भएको हो। घटनापछि वृत्त बालाजुबाट खटिएको टोलीले कुटपिटमा संलग्न रहेका २० वर्षीय अर्जुन ताम्राकारलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।















