अमेरिकालाई इरानका नयाँ रक्षामन्त्रीको चेतावनी- पुन: आक्रमण गरिए ठुलो क्षति बेहोर्नुपर्नेछ

Image

इरानका नवनियुक्त रक्षामन्त्री मेहरदाद अखलाघीले अमेरिकाले पुनः आक्रमण सुरु गरेमा अमेरिका र मध्यपूर्वमा रहेका उसका सहयोगी देशले ठुलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन्।

इरानको संसद्‌बाट विश्वासको मत प्राप्त गरेपछि आइतबार पत्रकारहरूसँग कुरा गर्दै अखलाघीले अमेरिकाले इरानमा पुनः आक्रमण गर्ने सम्भावना न्यून रहेको बताए।

तर त्यस्तो कदम चालिए अमेरिका र सम्पूर्ण क्षेत्रले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी उनले दिएका हुन्। 

‘जनता ढुक्क भए हुन्छ, उसले हामीमाथि आक्रमण गर्ने आँट गर्ने सम्भावना निकै कम छ। तर त्यसो गरिए ऊ र सम्पूर्ण क्षेत्रले ठुलो क्षति बेहोर्नुपर्नेछ’, अखलाघीले भने।

इरानी संसद्का सदस्यहरूले उनलाई नयाँ रक्षामन्त्रीका रूपमा गरिएको नियुक्ति अनुमोदन गरेका छन्।

इरानको सरकारी टेलिभिजनका अनुसार आइतबार भएको मतदानमा उनले खसेको कुल २७७ मतमध्ये २३७ मत प्राप्त गरे। 

अब उनले रक्षा तथा सशस्त्र बलको रसदसम्बन्धी मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। 

अखलाघीले यसअघिका रक्षामन्त्री अजिज नासिरजादेहको स्थान लिएका हुन्। 

नासिरजादेह फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको आक्रमणमा मारिएका थिए। 

उक्त आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित इरानका वरिष्ठ सैन्य कमान्डर पनि मारिएका थिए।

इरानको सरकारी समाचार संस्था आईएसएनएका अनुसार मतदानअघि अखलाघीले आफूले जिम्मेवारी पाए देशको रक्षाका लागि संवेदनशील परिस्थितिको गहन विश्लेषण र पूर्ण तयारी आवश्यक हुने बताएका थिए।

उनले वर्तमान परिस्थितिको सही मूल्यांकन, घटनाक्रम पछाडिका कारण, प्रभाव पार्ने प्रवृत्तिको पहिचान तथा भविष्यमा उत्पन्न हुनसक्ने विभिन्न अवस्थाको सामना गर्ने तयारी देशको रक्षाका लागि महत्त्वपूर्ण ठानेका छन्।

सैन्य दर्जा नभए पनि अखलाघीले इरानको रक्षा मन्त्रालयमा ४२ वर्ष काम गरिसकेका छन्।

सन् २०१३ देखि उनले इरानको सरकारी हतियार उत्पादक निकाय रक्षा उद्योग संगठनको नेतृत्वसमेत सम्हालिरहेका छन्। 

संयुक्त राष्ट्रसंघले सन् २००७ मा परमाणु तथा ब्यालेस्टिक क्षेप्यास्त्रसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोपमा अखलाघीलाई प्रतिबन्ध लगाएको थियो।

अमेरिका र इजरायलको आक्रमणपछि इरानले प्रतिकारस्वरूप विभिन्न सैन्य कारबाही सञ्चालन गरेको थियो।

यस्तो अवस्थामा नयाँ रक्षामन्त्रीको चेतावनीले मध्यपूर्वमा पुनःसैन्य तनाव बढ्नसक्ने चिन्ता थपिएको छ।