क्यानडाबाट अलग हुने प्रस्ताव अल्बर्टाका ७६ प्रतिशत मतदाताद्वारा अस्वीकृत

Image

क्यानडाको तेलसम्पन्न प्रान्त अल्बर्टाका ७६ प्रतिशत मतदाताले क्यानडासँगै रहने पक्षमा मत दिएका छन्। प्रान्तलाई क्यानडाबाट अलग गर्ने दिशामा प्रक्रिया अघि बढाउने प्रस्तावलाई बहुमत मतदाताले अस्वीकार गरेका हुन्।

१० लाखभन्दा बढी मत गणना हुँदा करिब ७६ प्रतिशत मतदाताले क्यानडासँगै रहने पक्षमा मत दिएका थिए भने २३ प्रतिशतले अलग हुने विषयमा बाध्यकारी जनमतसङ्ग्रह गराउने प्रक्रिया सुरु गर्ने पक्षमा मत दिएका थिए।

यद्यपि, यो मतदान क्यानडाबाट स्वतन्त्र हुने वा नहुने विषयमा प्रत्यक्ष जनमतसङ्ग्रह थिएन। प्रस्ताव पारित भएको भए मात्र भविष्यमा प्रान्तको स्वतन्त्रताबारे जनमतसङ्ग्रह गराउने प्रक्रिया अघि बढ्न सक्ने थियो।

अल्बर्टामा विश्वकै चौथो ठूलो तेल भण्डार रहेको छ। यो प्रान्त क्यानडाको सङ्घीय सरकारप्रति असन्तुष्टि र परम्परागत रूढिवादी राजनीतिक प्रभावका लागि चिनिन्छ। तर, सङ्घीय सरकारप्रतिको असन्तुष्टि विगतमा प्रान्तलाई स्वतन्त्र बनाउने पक्षमा व्यापक समर्थनमा परिणत हुन सकेको थिएन।

मतदानमा आप्रवासन तथा संवैधानिक परिवर्तनसम्बन्धी अन्य नौवटा प्रश्न पनि समावेश थिए। क्यानडाको सार्वजनिक प्रसारण संस्था सीबीसीका अनुसार मतदानमा समावेश सबै १० प्रश्न गैरबाध्यकारी थिए। त्यसैले मतदानको नतिजाअनुसार अल्बर्टा प्रान्तीय सरकारले कानुनी रूपमा निर्णय कार्यान्वयन गर्नुपर्ने बाध्यता छैन।