बेलायतले चिनियाँ नागरिकलाई घण्टौं हिरासतमा राखेर कडा सोधपुछ गरेपछि चीन रुष्ट

Image

चीनले बेलायतमा प्रवेश गर्ने चिनियाँ नागरिकमाथि लामो समयसम्म सोधपुछ गरिएको र मोबाइल फोनसहित व्यक्तिगत इलेक्ट्रोनिक उपकरण जफत गरिएको भन्दै औपचारिक विरोध जनाएको छ।

बेलायतस्थित चिनियाँ दूतावासका अनुसार व्यापारिक प्रतिनिधिमण्डलका सदस्य, पर्यटक तथा आफन्त भेट्न बेलायत पुगेका चिनियाँ नागरिकले सीमा अधिकारीबाट लामो समयसम्म सोधपुछ र ढिलाइको सामना गर्नुपरेको छ। उनीहरूका मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक उपकरणसमेत जफत गरिएको दूतावासको भनाइ छ।

बेलायती सीमा अधिकारीहरूले सन् २०१९ को बेलायतको आतंकवाद प्रतिरोध तथा सीमा सुरक्षा ऐनअनुसार यस्तो कदम चालिएको बताएको चिनियाँ दूतावासले जनाएको छ।

दूतावासले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बेलायतसमक्ष औपचारिक विरोध दर्ता गराएको जनाएको छ। साथै, चिनियाँ नागरिकलाई मनोमानी रूपमा नियन्त्रणमा लिने र सोधपुछ गर्ने कार्य रोक्न बेलायतलाई आग्रह गरेको छ।

चिनियाँ दूतावासले बेलायत यात्रा गर्ने आफ्ना नागरिकलाई व्यक्तिगत सम्पत्ति र गोपनीयताको सुरक्षा गर्न, बेलायतका सम्बन्धित नियम तथा अभ्यासबारे जानकारी राख्न र आवश्यक परे कूटनीतिक सहयोग लिन पनि आग्रह गरेको छ।

यो घटना बेलायत र चीनबीच जासुसी तथा राष्ट्रिय सुरक्षाको विषयलाई लिएर तनाव बढिरहेका बेला सार्वजनिक भएको हो। यसअघि बेलायतको गुप्तचर निकाय एमआई–५ का महानिर्देशक केन म्याकलमले चीनमाथि जासुसी, दबाब सिर्जना तथा लोकतान्त्रिक प्रक्रियामा हस्तक्षेप गरेको आरोप लगाएका थिए।

उनले बेलायती विश्वविद्यालय तथा अनुसन्धान क्षेत्रमा चीनसँग सम्बन्धित एउटा संस्थाले कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षाजस्ता क्षेत्रमा अनुसन्धानका लागि रकम उपलब्ध गराउँदै चिनियाँ गुप्तचर निकायको क्षमता बढाउन सहयोग गरिरहेको आरोपसमेत लगाएका थिए।

चिनियाँ दूतावासले भने उक्त आरोपलाई पूर्णतः मनगढन्ते र दुर्भावनापूर्ण भन्दै खण्डन गरेको थियो। चीनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र बेलायतको घरेलु मामिलामा दखल दिने आफ्नो कुनै स्वार्थ नरहेको दाबी गरेको छ।

यसअघि पनि गत डिसेम्बरमा चिनियाँ दूतावासले बेलायत प्रवेश गर्दा वा बाहिरिँदा आफ्ना नागरिकका कागजात, मोबाइल, कम्प्युटर र स्मार्टवाच जाँच गर्न तथा लामो समयसम्म सोधपुछ गर्न बेलायती अधिकारीहरूले आतंकवादविरोधी कानुन प्रयोग गर्न सक्ने भन्दै सचेत गराएको थियो।