उदयपुरमा जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । कटारी नगरपालिका–४, मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जीप दुर्घटना भएको हो ।
सोमबार (कात्तिक ९) प्र.३–०१–०२३ च ६५०६ नम्बरको जीप ‘ब्रेक फेल’ भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जीपका चालक कटारी–११ का २९ वर्षीय निर्पबहादुर खड्कासहित यात्रु घाइते छन् । घाइते हुनेमा बालबालिका पनि छन् ।
दुर्घटनामा परी घाइते भएकाहरूको उपचार कटारी अस्पतालमा भइरहेको छ । कटारी–२ का ७१ वर्षीय रामबहादुर मगरलाई भने थप उपचारका निम्ति विराटनगर पठाइएको छ ।
चालक खड्का सामान्य घाइते भएकाले उपचारपश्चात् नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।















