ब्राजिलको चुनावमा धाँधली भएको ट्रम्पको आशंका

Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका व्यक्त गरेका छन्। उनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग आफ्नो सम्बन्ध राम्रो रहेको बताए पनि निर्वाचन प्रक्रिया भने शंकास्पद देखिएको टिप्पणी गरेका हुन्।

सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले निर्वाचनमा आफूले कुनै उम्मेदवारको पक्ष नलिएको दाबी गरे। तर, निर्वाचनको समग्र प्रक्रिया हेर्दा धाँधली भएको जस्तो देखिएको उनको भनाइ थियो। ‘मलाई यो सबै निकै खराब लाग्यो। मैले कसैको पक्ष लिएको थिइनँ। तर, यो अर्को धाँधली भएको निर्वाचनजस्तो देखियो,’ ट्रम्पले भने।

उनले ब्राजिलको निर्वाचनमा मतगणना गर्ने तरिका र निर्वाचनको समयसीमा थपिएको विषयमा समेत प्रश्न उठाए। यी घटनाक्रम असामान्य देखिएको भन्दै उनले निर्वाचन प्रक्रियामाथि शंका व्यक्त गरेका हुन्।

ट्रम्पले लुलासँग आफ्नो सम्बन्ध राम्रो रहेको दोहोर्‍याउँदै निर्वाचनको सम्पूर्ण घटनाक्रम भने खराब देखिएको बताए। साथै, ब्राजिल आफ्नो जिम्मेवारीको देश नभएको उल्लेख गर्दै आफू अमेरिकाको शासन सञ्चालनमा केन्द्रित रहेको उनको भनाइ थियो।

ब्राजिलको राष्ट्रपति निर्वाचनमा ८० वर्षीय वामपन्थी नेता लुला दा सिल्भा चौथोपटक निर्वाचित भएका छन्। उनले लिबरल पार्टीका नेता तथा कट्टर दक्षिणपन्थी प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गरेको विवरणमा उल्लेख छ।