इजरायल निर्वाचन : नेतान्याहुको गठबन्धन ५३, विपक्षीको ४८ सिटमा सीमित हुने अनुमान

Image

इजरायलको आमनिर्वाचनमा करिब ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्ने संकेत देखिएको छैन। सरकार गठनका लागि आवश्यक ६१ सिट कुनै पनि प्रमुख गठबन्धनले हासिल गर्न नसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

इजरायलको केन्द्रीय निर्वाचन समितिका अनुसार बुधबार स्थानीय समय राति ९ बजेसम्म ५० लाखभन्दा बढी मत गणना भइसकेको थियो। प्रारम्भिक प्रक्षेपणअनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले १२० सदस्यीय संसद् (नेसेट) मा ५३ सिट जित्ने देखिएको छ। विपक्षी गठबन्धनले भने ४८ सिट प्राप्त गर्ने अनुमान गरिएको छ। विपक्षी गठबन्धनको नेतृत्व गादी आइजेनकोटले गरिरहेका छन्।

यसैबीच, अरब समुदायका राजनीतिक दलहरू संयुक्त सूची (जोइन्ट लिस्ट) र रामले संयुक्त रूपमा कीर्तिमानी १९ सिटसम्म प्राप्त गर्न सक्ने अनुमान गरिएको छ। अरब मतदाताको उच्च सहभागिताले नेतान्याहुको गठबन्धनलाई बहुमत पुग्नबाट रोक्न महत्त्वपूर्ण भूमिका खेलेको विपक्षी दलहरूको दाबी छ।

निर्वाचनको अन्तिम परिणाम बिहीबार साँझसम्म सार्वजनिक हुन सक्ने भए पनि त्यसबाट पनि सरकार गठनको स्पष्ट समीकरण तत्काल नबन्ने सम्भावना छ। अझै पाँच लाखभन्दा बढी विशेष मतपत्र गणना हुन बाँकी छन्। ती मतपत्रमा सैनिक, कूटनीतिज्ञ तथा आफ्नो दर्ता भएको मतदान केन्द्रभन्दा बाहिरबाट मतदान गर्ने व्यक्तिहरूको मत समावेश छ। बाँकी मतगणनाले सिट सङ्ख्यामा परिवर्तन ल्याउन सक्नेछ।

सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमण र त्यसपछि गाजामा भएको युद्धयता इजरायलमा भएको यो पहिलो निर्वाचन हो। निर्वाचनलाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्व र उनको सरकारप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको थियो। ७७ वर्षीय नेतान्याहुको गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्न नसके पनि उनी राजनीतिक रूपमा कमजोर अवस्थामा पुगिसकेको निष्कर्ष निकाल्न भने कठिन देखिएको छ।

नयाँ सरकार गठन नभएसम्म नेतान्याहु कामचलाउ प्रधानमन्त्रीका रूपमा रहनेछन्। आधिकारिक नतिजा सार्वजनिक भएपछि राष्ट्रपति इसाक हर्जोगले आगामी साता राजनीतिक दलका नेताहरूसँग नयाँ सरकार गठनबारे परामर्श सुरु गर्नेछन्।

राष्ट्रपति हर्जोगले सरकार गठनमा ढिलाइ हुने गरी अर्को निर्वाचनको अवस्था आउन नदिन सबै दललाई आग्रह गरेका छन्। इजरायलमा कुनै पनि दलले एक्लै बहुमत प्राप्त नगरेका कारण गठबन्धन बनाएर सरकार गठन गर्नु सामान्य राजनीतिक अभ्यास रहँदै आएको छ।

नेतान्याहुको गठबन्धन सबैभन्दा ठूलो समूह बन्ने देखिएकाले केही विश्लेषकले विपक्षी नेता आइजेनकोटलाई समेत समेटेर राष्ट्रिय एकताको सरकार गठन हुन सक्ने अनुमान गरेका छन्। यद्यपि, यस्तो सम्भावना निश्चित भइसकेको छैन।

विपक्षी गठबन्धनका नेता आइजेनकोटले बुधबार सामाजिक सञ्जाल एक्समार्फत आफ्नो समूहले इजरायलमा परिवर्तन ल्याउने र नयाँ सरकार स्थापना गर्ने जिम्मेवारीलाई प्राथमिकतामा राखेको बताएका छन्। उनले निर्वाचनको परिणामलाई अक्टोबर ७ को आक्रमणपछि सरकारप्रति जनताले व्यक्त गरेको अविश्वासका रूपमा व्याख्या गरेका छन्।

उता, नेतान्याहुको लिकुड पार्टीले अरब राजनीतिक दलहरूमाथि निर्वाचनमा धाँधली गरेको आरोप लगाएको छ। पार्टीले अरब दलहरूले आतंकवादलाई समर्थन गरेको र निर्वाचनमा घुसखोरी, धम्की, हिंसा, नक्कली कागजात तथा प्रतिबन्धित सफ्टवेयर प्रयोग गरेको आरोप लगाएको हो।

लिकुडले निर्वाचनसम्बन्धी प्रमाण र बयानहरू प्रहरी, आन्तरिक सुरक्षा निकाय शिन बेट तथा केन्द्रीय निर्वाचन समितिलाई बुझाउने जनाएको छ। यद्यपि, पार्टीले लगाएका यी आरोप स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।

यसैबीच, अरब समुदायको प्रतिनिधित्व गर्ने संयुक्त सूचीले प्रारम्भिक नतिजाले नेतान्याहु र उनको गठबन्धनलाई संसदीय बहुमतबाट टाढा राख्न अरब मतदाताको सहभागिता निर्णायक बनेको जनाएको छ।

संयुक्त सूचीले नेतान्याहु सरकारका नीतिहरू, घर भत्काउने कार्य, जातीय विभेद र युद्ध अपराधको विरोध गर्दै आफ्नो राजनीतिक समर्थनले अरब नागरिकको अधिकारको रक्षा गर्न एकताबद्ध राजनीतिक शक्तिको माग प्रतिबिम्बित गरेको बताएको छ।

नेतान्याहु नेतृत्वको सरकार हटाउन र पुनः सत्तामा फर्कन नदिन काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। संयुक्त सूचीका नेता युसेफ जबारेनले नेतान्याहुविरोधी सरकारलाई बाहिरबाट समर्थन गर्न सकिने, तर सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्।