प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रहरीले नियन्त्रणमा लिएका पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री शाहले शुक्रबार विभिन्न सञ्चारमाध्यमका कार्यालयमा पुगेर पत्रकार पक्राउ गरिएको घटनाप्रति चासो देखाउँदै नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
उनले समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्नसमेत सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले पत्रकार पक्राउका घटनामा प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छन् । उनले यस घटनाबारे प्रधानमन्त्रीको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको बताएकी छन् ।
शुक्रबार पक्राउ पर्नेमा पत्रकार विश्वमणि सुवेदी, धिरज बस्नेत र शोभराज बराल रहेका छन्। त्यस्तै, प्रहरीले पत्रकार सुदीप विश्वकर्मा, रिता बुढाथोकी तथा पत्रकार नवराज मैनालीको खोजी गरिरहेको छ। प्रहरीले केही सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको छ भने अन्य कार्यालयमा पुगेर उनीहरूको खोजी गरेको छ।















