सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ स्थित चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। पहिरोले नदी थुनिएपछि अस्थायी बाँध बनेको र त्यसबाट पानीको बहाव बढ्न सक्ने भन्दै कोशी प्रदेश सरकारले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले दिएको जानकारीअनुसार चेरेम गाउँमुनि निरन्तर पहिरो खसिरहेको छ। पहिरोले इङ्खु नदीको बहाव रोकेपछि नदीमा अस्थायी बाँध बनेको छ।
उक्त अस्थायी बाँध फुटेमा एकैपटक पानीको बहाव र परिमाण बढ्न सक्ने जोखिम रहेको सोलुखुम्बुकै सासद समेत रहेका मन्त्री शेर्पाले बताएका छन्।
उनले इङ्खुखोला, दूधकोशी र सप्तकोशी नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
उनका अनुसार हालको अवस्थालाई हेर्दा ठूलो जोखिम देखिएको छैन। तर उक्त क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने र अस्थायी बाँध भत्किएमा नदीमा पानीको सतह अचानक बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर सतर्कता अपनाउनुपर्ने अवस्था छ।















