आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको काउन्टडाउन सुरु भएको छ ।
प्रतियोगिता सुरु हुन एक महिना मात्रै बाँकी रहँदा कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सोमबारदेखि ३० दिने काउन्टडाउन सुरु गरेको हो ।
काउन्टडाउन सुरु गर्दै कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रतियोगिता आयोजनाका क्रममा विभिन्न चुनौती रहे पनि ती सबैको सामना गरेर सम्पन्न गरिने बताएका छन् ।
उक्त काउन्टडाउन कार्यक्रममा संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रतियोगिता आयोजनाका लागि भइरहेको तयारीलाई निर्धारित समयभित्रै पूरा गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले प्रतियोगिता आयोजनाका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको जानकारी दिए । उनका अनुसार, खरिद प्रक्रिया र अन्य व्यवस्थापकीय काम अगाडि बढिरहेका छन् । बाँकी रहेका काम पनि प्रतियोगिता सुरु हुनुअघि सम्पन्न गर्ने गरी अघि बढाइनेछ ।
३० दिने काउन्टडाउन सुरु भएसँगै प्रतियोगिताका लागि आवश्यक तयारी पूरा गर्न आयोजक पक्षमाथि दबाब बढेको छ । खेलस्थलको व्यवस्थापन, खेल सामग्री खरिद, खेलाडीको तयारी, आवास, यातायात, सुरक्षा तथा अन्य व्यवस्थापकीय काम निर्धारित समयभित्रै सम्पन्न गर्नुपर्नेछ ।















