चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै इलामको नारायणस्थान मन्दिर परिसरमा सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ।
डा. केसीलाई लिन काठमाडौँबाट हेलिकप्टर इलामतर्फ प्रस्थान गरिसकेको छ। उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइने इलाम अस्पतालले जनाएको छ।
चिकित्सकका अनुसार डा. केसीको रगतमा ग्लुकोजको मात्रा निकै कम भएको छ भने पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको छ। स्वास्थ्य अवस्था थप बिग्रिँदै गएपछि विशेष उपचार आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्।
टाइप–२ मधुमेहबाट पीडित डा. केसी गत बिहीबारदेखि आफ्नो २५औँ सत्याग्रहमा बसेका थिए। सत्याग्रहका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार राति उपचारका लागि इलाम अस्पताल भर्ना गरिएको थियो।
स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि काठमाडौँ लैजान लागिएको हो।















