नेपाल राष्ट्र बैंकले आगामी तिहारलाई लक्षित गर्दै सर्वसाधारणलाई सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्ने भएको छ । बैंकको टक्सार महाशाखाले भोलिबाट सर्वसाधारणमा असर्फी र मेडालियन बिक्रीमा राख्ने जनाएको छ ।
सर्वसाधारणले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्राम चाँदीका मेडालियन खरिद गर्न सक्नेछन् । यी दुवैखालका असर्फी र मेडालियनमा लक्ष्मी र गणेशको चित्र कुँदिएका हुनेछन् । जसलाई सर्वसाधारणले एक/एकवटा र बढीमा दुई थानसम्म किन्न सक्नेछन् ।
सर्वसाधारणले खरिद गर्ने दिनको बजार मूल्यअनुसार असर्फी र मेडालियन किन्न सक्नेछन् । महाशाखाले बिहीबार र शुक्रबारमात्रै बिक्रीमा राख्ने जनाएको छ । यसका लागि ११ बजेदेखि ३ बजेसम्म महाशाखामा आएर खरिद गर्न सकिनेछ ।
यसका लागि खरिदकर्ताले नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र वा उक्ता नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपि ल्याउनुपर्नेछ ।














