डोल्पा कारागारबाट फरार थप दुई कैदी जंगलबाट पक्राउ

Image

डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका थप दुई जना कैदी पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा जाजरकोटको बारेकोट गाउँपालिका–१ घर भएका २५ वर्षका यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ घर भएका २८ वर्षका धनबहादुर भन्ने हरिबहादुर बुढा रहेका छन्।

विशेष खोजतलासका क्रममा प्रहरीले उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ्ग गाउँनजिकैको जंगलमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। १२ वर्ष कैद सजाय तोकिएका विकको १० वर्ष ८ महिना र बुढाको ९ वर्ष ५ महिना कैद भुक्तान गर्न बाँकी थियो।

पक्राउ परेका दुवै जनामाथि कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। कारागारबाट फरार भएका कैदी तथा थुनुवामध्ये हालसम्म ६ जना पक्राउ परिसकेका छन् भने बाँकी दुई जना थुनुवाको तीव्र रूपमा खोजतलास जारी छ।