अमेरिकामा ट्यांकर र क्रुज पानीजहाज ठोक्किँदा ३२ जना घाइते, जहाज डुब्यो

Image

अमेरिकाको लुइजियाना राज्यस्थित न्यु अर्लिन्समा ट्यांकर र यात्रुवाहक क्रुज पानीजहाज आपसमा ठोक्किँदा ३२ जना घाइते भएका छन्। ठक्करपछि क्रुज पानीजहाज मिसिसिपी नदीमा पल्टिएर डुबेको छ । शुक्रबार मिसिसिपी नदीको किनारमा रोकिराखिएको यात्रुवाहक पानीजहाज ‘अमेरिकन हेरिटेज’लाई ट्यांकर ‘एट्लान्टिक एस्फाल्ट’ले ठक्कर दिएको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्यांकरले नियन्त्रण गुमाएपछि दुर्घटना भएको थियो ।

दुर्घटनाका बेला क्रुज पानीजहाजमा रहेका यात्रुहरू ज्यान जोगाउन हतारहतार बाहिर निस्किएका थिए । केही यात्रु नदीमा खसेपछि उद्धारकर्मी, अग्नि नियन्त्रक तथा अन्य पानीजहाजमा रहेका व्यक्तिहरूले उनीहरूको उद्धार गरेका थिए । न्यु अर्लिन्सकी मेयर हेलेना मोरेनोका अनुसार दुर्घटनामा परेका सबै यात्रु तथा चालक दलका सदस्यको अवस्था पत्ता लागेको छ। घाइतेमध्ये ३२ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। उनीहरूमध्ये कसैको पनि अवस्था गम्भीर नरहेको उनले बताएकी छन् ।

दुर्घटनाका बेला क्रुजमा करिब १८० देखि १९० जना यात्रु तथा चालक दलका सदस्य रहेको बताइएको छ। जबकि उक्त जहाजको यात्रु क्षमता १५० जनाको मात्रै थियो । सन् २०१५ मा निर्माण गरिएको ‘अमेरिकन हेरिटेज’ अमेरिकन क्रुज लाइन्स कम्पनीको जहाज हो । बन्दरगाह प्रहरी प्रमुख मेलानी मोन्ट्रोलका अनुसार जहाज पल्टिनुअघि ८७ जना यात्रु बाहिर निस्किसकेका थिए ।

दुर्घटनापछि अमेरिकी तटरक्षक बलले घटनास्थल आसपासको नदीमा अन्य पानीजहाजको आवतजावत बन्द गरेको छ। तटरक्षक बलकी क्याप्टेन मेलानी बर्नहमले ट्यांकरको स्टेयरिङ प्रणालीमा समस्या आएको हुन सक्ने प्रारम्भिक आशंका व्यक्त गरेकी छन् । यद्यपि दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ ।

अमेरिकन क्रुज लाइन्सले तटरक्षक बल तथा स्थानीय अधिकारीहरूसँग समन्वय गरेर उद्धार र व्यवस्थापनको काम गरिरहेको जनाएको छ । कम्पनीले विज्ञप्तिमार्फत यात्रु र चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालिएको जानकारी दिएको छ । मेयर मोरेनोले स्थानीय, राज्य तथा संघीय निकायका उद्धारकर्मी र अन्य पानीजहाजमा रहेका व्यक्तिहरूको तत्कालको प्रयासका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताएकी छन्।