अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । उक्त समस्याका कारण अमेरिकाभर १४ हजारभन्दा बढी उडान प्रभावित भएका थिए । अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूबीचको सञ्चार प्रणालीमा समस्या आएपछि शुक्रबार दिउँसो अमेरिकाभरका सबै उडान रोक्ने निर्णय गरिएको थियो।
एफएएले सञ्चार प्रणालीमा आएको प्राविधिक समस्याका कारण हवाई सुरक्षालाई ध्यानमा राख्दै उडान रोक्नुपरेको जनाएको थियो। उक्त निर्णयका कारण सयौँ विमानको उडान मार्ग परिवर्तन गर्नुपरेको थियो भने हजारौँ यात्रु विमानस्थलमा अलपत्र परेका थिए।
अमेरिकाका यातायात सचिव सन डफीका अनुसार उडान रोक लगाइएका बेला आकाशमा करिब ३ हजार ५०० विमान थिए। उडान रोक हटाउने समयसम्म आकाशमा ४०० भन्दा कम विमान मात्र बाँकी थिए। उनले उडान सेवा तत्कालै पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन नसक्ने र त्यसका लागि केही समय लाग्ने बताएका छन्।
अमेरिकाको हवाई ट्राफिक नियन्त्रण प्रणाली निकै पुरानो प्रविधिमा आधारित रहेको र सञ्चार प्रणालीमा अत्यधिक डेटा प्रवाह हुँदा समस्या उत्पन्न भएको यातायात सचिव डफीले बताएका छन्। उनले प्रणालीको आधुनिकीकरणका लागि संसद्सँग आपत्कालीन बजेटसमेत माग गरेका छन्।
यसैबीच, अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले सञ्चार प्रणालीमा आएको समस्या साइबर आक्रमण वा आतंकवादी गतिविधिसँग सम्बन्धित भएको कुनै संकेत नरहेको बताएका छन्। प्रारम्भिक अनुसन्धानमा यो केवल दूरसञ्चार प्रणालीमा आएको अवरोध देखिएको उनको भनाइ छ।
उनले विमानमा रहेका यात्रुको जीवन जोखिममा नपरेको र सबै उडानको अवस्थाबारे जानकारी रहेको पनि स्पष्ट पारेका छन्। सम्भावित जोखिमबाट बच्न सावधानीस्वरूप उडान रोकिएको उनको भनाइ छ।
एफएएको निर्णयले अमेरिकाका प्रमुख विमानस्थलहरू प्रभावित भएका थिए। उड्डयन विश्लेषण कम्पनी सिरियमका अनुसार साँझ ५ बजेर ५० मिनेटसम्म कम्तीमा ६०० उडानको मार्ग परिवर्तन गरिएको थियो। तीमध्ये ४९६ विमानलाई उडान सुरु गरेको विमानस्थलमै फर्काइएको थियो भने १०४ विमानलाई अन्य विमानस्थलमा अवतरण गराइएको थियो।
शुक्रबार साँझका लागि अमेरिकाबाट १३ हजारभन्दा बढी उडान निर्धारित थिए। ती उडानमार्फत १७ लाखभन्दा बढी यात्रुले यात्रा गर्ने अनुमान गरिएको थियो।
उडान अवरोधका कारण जेटब्लु एयरवेजले शुक्रबार रातिका बाँकी सबै आन्तरिक उडान रद्द गरेको थियो। एयर क्यानडाले पनि अमेरिका जाने तथा अमेरिकाबाट फर्कने उडान शुक्रबार साँझसम्मका लागि रद्द गरेको जनाएको थियो। मेक्सिकोबाट अमेरिकातर्फ जाने निर्धारित उडानसमेत रोकिएका थिए।
यद्यपि अलास्का र हवाई राज्यभित्रका केही उडान तथा अमेरिकाको हवाई क्षेत्र छाडेर अन्य देशतर्फ जाने केही अन्तर्राष्ट्रिय उडानलाई अनुमति दिइएको थियो। युरोपको उड्डयन निकायले पनि एफएएको अनुरोधमा शुक्रबार साँझदेखि मध्यरातसम्म अमेरिकातर्फ जाने उडान स्थगित गरेको थियो।
यस अवरोधले खेलकुद क्षेत्रसमेत प्रभावित भएको थियो। एनबीए, एनएचएल तथा कलेजस्तरीय खेलका लागि यात्रा गरिरहेका विभिन्न टोली विमानस्थलमै रोकिएका थिए। सप्ताहन्तमा हुने खेलका लागि यात्रा गर्नुपर्ने टोलीहरूको तयारीसमेत प्रभावित भएको थियो।
अमेरिकामा सन् २०२३ को जनवरीमा एफएएको महत्त्वपूर्ण कम्प्युटर प्रणालीमा खराबी आएपछि पहिलोपटक देशव्यापी रूपमा उडान रोकिएको हो। त्यसअघि सन् २००१ सेप्टेम्बर ११ मा भएको आतंकवादी हमलापछि अमेरिकाभरका उडान रोकिएका थिए।
सञ्चार प्रणालीमा आएको अवरोधको वास्तविक कारणबारे भने अनुसन्धान जारी रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।















