मोरङको विराटनगरका निम्ति बाराको अमलेखगन्जबाट डिजेल बोकेर ल्याइरहेको ट्यांकर चोरी भएको छ । सुनसरीको इनरुवामा पार्किङ गरेर राखिएको अवस्थामा को१ख २३३९ नम्बरको ट्यांकर सोमबार (कात्तिक ३०) चोरी भएको हो ।
सुनसरी आयलमा उक्त ट्यांकर पार्किङ गरिएको थियो । घटनापछि खटिएको प्रहरी टोलीले सोमबारै इनरुवा नगरपालिका–६, हलेसी चोकमा ट्यांकर फेला पारेर कारबाही अघि बढाइएको छ ।
नियन्त्रणमा लिएर ट्यांकर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । ट्यांकर भेटिए पनि त्यसबाट एक हजार ५८० लिटर डिजेल चोरी गरिएको पाइएको छ ।
घटनाबारे नेपाल आयल निगमको कोसी प्रादेशिक कार्यालयका प्रमुख पुष्कर कार्कीले भने, “सोमबार ट्यांकर हराएको खबर आउनेबित्तिकै हामीले प्रहरीको सहयोगमा खोज्यौँ र ट्यांकर भेटियो । तर, त्यसमा रहेको एक हजार ५८० लिटर डिजेल कम देखिएको छ । चालकलाई हिरासतमा राखेर थप छानबिन भइरहेको छ ।”
उक्त ट्यांकरका चालकको घर त्यहीँनजिकै छ । घरमा भन्दा पम्पमा राख्दा सुरक्षित र सहज हुन्छ भनेर गाडी त्यहाँ पार्किङ गरिएको चालकले बताएका प्रहरीले जनाएको छ ।
जनकपुरको ओम ढुवानी सेवाको उक्त ट्यांकर विराटनगरबाट चलाइँदै आएको थियो । त्यो ट्यांकर चलाउन पाउने २० वर्षको अवधि पुग्न अब एक महिना मात्र बाँकी छ । आउँदो पुसमा आफैँ सम्झौता सकिने अवस्थामा रहेको गाडी चोरीमा परेको हो ।
ढुवानी कम्पनीले एउटा गाडीको समयावधि सकिएमा अर्को नयाँ ट्यांकर राख्न पाउने कानुनी व्यवस्था छ । यो घटनापछि भने उक्त कम्पनीले अब नयाँ ट्यांकर हाल्न नपाउने प्रमुख कार्कीले बताए ।
“यो गाडीको सम्झौता यही पुससम्म मात्रै थियो । म्याद सकिन लागेको र फेरि चोरीको घटनामा परेकाले अब यसको सट्टा नयाँ ट्यांकरको अनुमति निकाल्ने काम रोकिने अवस्था छ,” उनले भने, “निगमको केन्द्रीय कार्यालयबाट पनि यसबारे आवश्यक छानबिन र कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।”
यही वर्ष असार ७ गते पनि मोरङको कञ्चनबारीस्थित चारैतिरबाट घेरिएको अग्लो पार्किङस्थलबाट २० हजार लिटर पेट्रोल भरिएको को१ख ६१९० नम्बरको ट्यांकर चोरी भएको थियो । नवीन ढुवानी सेवाको उक्त ट्यांकर सुनसरीको भोक्राहानरसिँह गाउँपालिका–८ स्थित हुलाकी सडकखण्डमा फेला पर्दा करिब ९७३ लिटर इन्धन चोरी भएको पाइएको थियो ।
०७८ भदौ १३ गते पनि विराटनगरस्थित प्रादेशिक डिपोको पार्किङस्थलबाटै तेल भरिएको ट्यांकर चोरी भएको थियो । उक्त घटनामा प्रहरीले विराटनगर महानगरपालिका–४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको थियो ।
यसबाहेक ०७५ सालमा दुईपल्ट र ०७७ मा एकपटक पार्किङस्थलबाटै ट्यांकर चोरेर तेल गायब पारिएको थियो ।















