नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको परिमाणको सीमा बढाएको छ ।
यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै अब २० किलोसम्म सुन ल्याउन दिने भएको हो ।
दैनिक तोकिएको कोटा अनुसार सुन नआएमा त्यही महिनाको कुनै दिन दैनिक तोकिएको कोटामा थप गरी सुन आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि यस्तो व्यवस्था थिएन । तर, कुनै एक महिनाको कुनै दिन आयात नभएको सुन अर्को महिनामा आयात गर्न भने नपाइने व्यवस्था गरिएको छ ।
व्यवसायीको आग्रहअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको सीमा बढाउने निर्णयसहित केन्द्रीय बैंकलाई पत्राचार गरेको थियो । सोहीअनुसार केन्द्रीय बैंकले सुन आयातको सीमा बढाएको हो ।
दसैंतिहारमा सुनको माग बढ्ने प्रमुख सिजन भएकोले व्यवसायीले कोटा बढाउन आग्रह गरेका थिए ।