नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र शान्ति सम्झौताका उपलब्धिमा प्रहार भइरहेको दाबी गरेका छन्।
शनिबार भक्तपुरमा पार्टीको जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन कार्यक्रममा प्रचण्डले शान्ति सम्झौताले परिकल्पना गरेको नयाँ नेपालको सपना र त्यसबाट प्राप्त उपलब्धि कमजोर पार्ने प्रयास भइरहेको दाबी गरेका हुन्।
उनले सुकुमवासी, आदिवासी जनजाति, दलित र महिलालगायत समुदायका अधिकार, हित र पहिचानमा विभिन्न ढंगले प्रहार भइरहेको बताए।
‘अहिले देशमा असहज राजनीतिक परिस्थिति सिर्जना भएको छ। संविधान र त्यसले सुनिश्चित गरेका अधिकारमाथि विभिन्न कोणबाट चुनौती देखिएका छन्’, प्रचण्डले भने, शान्ति सम्झौताले अधिकार, पहिचान र समानताको सपना देखेका सुकुमवासी, आदिवासी जनजाति, दलित तथा महिलालगायतका समुदायमाथि विभेद र अन्यायका समस्या अझै कायम छन्।’
















