सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० भवटीस्थित सामुदायिक वनको ओडारबाट प्रहरीले आठ नाल भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले मंगलबार सामुदायिक वनको ओडारमा लुकाइछिपाई राखिएको अवस्थामा ती बन्दुक फेला पारेको हो । प्रहरीका अनुसार बरामद गरिएका आठ बन्दुकमध्ये सात नाल साबुत र एक नाल बेसाबुत अवस्थामा रहेका छन् ।
बरामद बन्दुक आवश्यक कारबाहीका लागि प्रहरी चौकी बनगाडमा राखिएको छ । बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।















