सुकुम्वासीलाई दुई दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको उर्दी

Image

भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसेका सुकुमबासीलाई २ दिन (मंसिर ११ गते) भित्र हट्न निर्देशन दिइएको छ ।  बुधबार जिल्ला प्रशासन कार्यालय, भक्तपुरले सूचना जारी गरी दुई दिनभित्र होल्डिङ सेन्टर खाली गर्न भनेको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जारी गरेको सूचनामा वोडेस्थित कृषि विकास तालिम केन्द्रमा रहेका सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न भनिएको छ। 

यो होल्डिङ सेन्टरमा १९ परिवार बस्दै आएका छन्। उनीहरूमध्ये सात परिवारको उनीहरूको पुर्ख्यौली थलोमा जग्गा रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

त्यस्तै, बाँकी १२ परिवारका नाममा भने कतै जग्गा नदेखिएको सूचनामा उल्लेख गरेको छ। जग्गा भएका र नभएका सबैलाई मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न भनिएको छ। 

सूचनामा भनिएको छ, ‘भूमिहीन नठहरिने भएका र जग्गा नदेखिएका सम्पूर्ण व्यक्तिहरूलाई यहि मिति २०८३/०८/११ गते १४:०० बजेभित्र होल्डिङ सेन्टर खाली गर्न हुन सूचित गरिन्छ।’

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा गत वैशाख १२ गतेदेखि काठमाडौंका नदी किनारका सुकुम्वासी बस्तीमा डोजर चलाइएको थियो। बस्तीमा रहेका सुकुम्वासीलाई विभिन्न स्थानमा होल्डिङ सेन्टरमा राखिएको थियो। 

उनीहरूलाई तीन महिनाभित्र बसोबासको व्यवस्था गरिने बताइएको थियो। तर, नदी किनारका सुकुम्वासी बस्तीबाट हटाइएका परिवारलाई अहिलेसम्म बसोबासको व्यवस्था गरिएको छैन। बरु उनीहरूलाई दुई दिनभित्र होल्डिङ सेन्टर खाली गर्न भनिएको छ।