नेपाल प्रहरी प्रधान कार्यालयले लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेका १४ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।
प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानून तथा मानव अधिकार महाशाखा (कानुन शाखा) ले सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफू अनुपस्थित हुनुको कारणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।
प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा काठमाडौं, तनहुँ, पर्सा, महराजगञ्ज, जाजरकोट, इलाम, पाल्पा, मकवानपुर, इन्द्रदेही, सुर्खेत, कञ्चनपुर र रामेछापलगायत विभिन्न स्थानमा दरबन्दी रहेका प्रहरी कर्मचारीहरूको विवरण समावेश गरिएको छ।
सूचनामा तोकिएको समयभित्र आफू गैरहाजिर हुनुको कारणसहित कार्यालयमा उपस्थित नभए प्रचलित प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।
लामो समयसम्म बिना जानकारी कार्यालयमा अनुपस्थित रहने प्रहरी कर्मचारीलाई सेवासम्बन्धी जिम्मेवारीबाट विमुख भएको भन्दै प्रहरी प्रधान कार्यालयले उनीहरूलाई अन्तिम अवसरका रूपमा सात दिनको समय दिएको हो।
प्रहरी प्रधान कार्यालयले सम्बन्धित कर्मचारीलाई सूचनाको म्यादभित्र उपस्थित भई आफ्नो अनुपस्थितिबारे स्पष्टीकरण दिन आग्रह गरेको छ।
















