अमेरिकाको मियामीमा बुधबार राति अवतरणका क्रममा फेडएक्सको मालवाहक विमान धावनमार्गबाट चिप्लिएर बाहिर निस्किएको छ । यो घटनापछि मियामी अन्तर्राष्ट्रिय विमानस्थलको एउटा धावनमार्गबाहेक अरू अस्थायी रूपमा बन्द गरिएको छ । त्योसँगै त्यहाँ उडान र अवतरण प्रभावित भएको छ ।
अमेरिकाको थ्यांक्सगिभिङ पर्वको एक दिनअघि भएको घटनामा कोही पनि मानिसलाई चोटपटक लागेको छैन । घटना बेलुका करिब ८ः४० बजे भएको विमानस्थलका अधिकारीले बताएका छन् ।
मेम्फिसबाट आएको म्याकडोनेल डगलस एमडी–११ विमान अवतरणका क्रममा धावनमार्गबाट अगाडि निस्किएको थियो । घटनालगत्तै दमकल तथा उद्धार टोली घटनास्थल पुगेको थियो । घटनाको अनुसन्धान गरिने संघीय विमान प्रशासन (एफएए)ले जनाएको छ ।
फेडएक्सले अवतरणका क्रममा समस्या उत्पन्न भएको र अनुसन्धानमा संलग्न अधिकारीलाई सहयोग गरिरहेको जनाएको छ । चालक दलका सदस्य सुरक्षित रहेका र कोही घाइते नभएका कम्पनीको भनाइ छ ।
यात्रुलाई विमानस्थल आउनुअघि सम्बन्धित एयरलाइन्ससँग उडानको पछिल्लो अवस्थाबारे बुझ्न आग्रह गरिएको छ । उडान सञ्चालन सुरक्षित रूपमा पुनः सुरु गर्न काम भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
फेडएक्सले यस वर्ष मे महिनामा एमडी–११ विमानमार्फत सामान ढुवानी पुनः सुरु गरेको थियो । गत वर्ष केन्टकीमा उडान भर्ने क्रममा यस्तै विमान दुर्घटनाग्रस्त हुँदा तीन पाइलटसहित जमिनमा रहेका १२ जनाको मृत्यु भएको थियो ।
यसै वर्ष सेप्टेम्बरमा अमेजनको एउटा मालवाहक विमान पनि मियामी विमानस्थलको अर्को धावनमार्गबाट चिप्लिएको थियो । उक्त घटनामा जमिनमा रहेका पाँचजनाको मृत्यु भएको थियो ।
















