बदलिँदो हिमालको मूल्य : जलविद्युत्‌मा क्षति, स्थानीय तहलाई आर्थिक चोट

Image

गत असार दोस्रो साता रसुवागढी हाइड्रोपावर कम्पनीले १११ मेगावाट क्षमताको आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु गरेको जानकारी गराएको थियो। अघिल्लो वर्षको बाढीले क्षति पुर्‍याएका संरचनाको मर्मतपछि कम्पनीले पुनः उत्पादन थालेको थियो।

कम्पनी सचिव नरनाथ न्यौपानेले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङलाई पत्र पठाउँदै आगामी वर्षायाममा निर्वाध रूपमा पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने तयारी पूरा भएको जानकारी दिएका थिए।

तर त्यो तयारी लामो समय टिकेन। भदौ १० गतेको भोटेकोशी बाढीले आयोजनाको बाँधस्थल, कार्यालय, कर्मचारी आवास र पहुँचमार्ग ध्वस्त बनायो। भूमिगत विद्युत् गृह गेग्रानले भरियो। कम्पनीका सञ्चालकसहित ९२ जना बेपत्ता भएको जानकारीसमेत कम्पनीले सम्बन्धित निकायलाई पठाएको पत्रमा उल्लेख गर्‍यो।

दोस्रो पटक क्षति व्यहोरेको आयोजनाको पुनःस्थापना कहिले पूरा हुन्छ भन्ने अनिश्चित छ। तर कम्पनीले आफ्नो पत्रको अन्तिम हरफमा क्षतिग्रस्त संरचनाको बीमा चालु रहेको जानकारी दिएको छ।

यही बाढीबाट प्रभावित रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङसँग भने बाढीले गाउँपालिकाको बजेटमा पारेको क्षति पूर्ति गराउने कुनै बीमा छैन।

‘बाढीले हाम्रो गाउँपालिकाका जलविद्युत् आयोजनामा गरेको क्षतिले विकास निर्माण गर्ने रकम गुम्ने भयो। बिग्रिएको बजेटको हिसाब कसरी मिलाउने ?’ तामाङको प्रश्न छ।

यो प्रश्न एउटा गाउँपालिकाको बजेट व्यवस्थापनमा देखिएको समस्या मात्र होइन। जलविद्युत् आयोजनाबाट रोयल्टी प्राप्त गर्ने देशभरका स्थानीय सरकारको आर्थिक सुरक्षासँग जोडिएको विषय हो।

आमाछोदिङ्मो गाउँपालिकाले चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट ८५ लाख ६५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ। त्यसको झण्डै तीन गुणा बढी अर्थात् २ करोड ३८ लाख रुपैयाँ प्राकृतिक स्रोतको रोयल्टीबाट प्राप्त हुने उसको अपेक्षा थियो। अध्यक्ष तामाङका अनुसार प्राकृतिक स्रोतको रोयल्टीको अधिकांश हिस्सा जलविद्युत् आयोजनाबाट आउँछ।

गाउँपालिकाले अनुमान गरेको कुल रोयल्टीमध्ये ठूलो हिस्सा जलविद्युत् आयोजना बन्द हुँदा प्रभावित हुने जोखिममा छ। अझ पालिकाले आम्दानीमध्ये एक करोड ५० लाख रुपैयाँ करार कर्मचारीको पारिश्रमिकका लागि छुट्याएको छ। यसको अर्थ जलविद्युत् उत्पादनमा आएको अवरोधले नयाँ विकास आयोजना मात्रै होइन, नियमित प्रशासनिक खर्च व्यवस्थापनमा समेत दबाब पार्न सक्छ।

‘विद्युत् रोयल्टीले गाउँपालिकाको विकास र स्थानीयवासीको भलाइका लागि ठूलो सहयोग गरेको थियो। यो गुम्दा स्थानीयवासीको हितमा गर्ने खर्च घटाउनुपर्ने हुन्छ,’ तामाङ भन्छन्।

जलविद्युत्को जोखिम, स्थानीय सरकारको संकट

जलविद्युत् आयोजना सञ्चालनमा आउँदा त्यसबाट उत्पादित बिजुली बिक्री गरेर कम्पनीले आम्दानी गर्छ। सरकार र स्थानीय तहले रोयल्टी पाउँछन्। तर बाढीपहिरोले आयोजना बन्द हुँदा यो आर्थिक चक्र नै प्रभावित हुन्छ।

२०८१/८२ मा विद्युत् रोयल्टीबाट प्राप्त रकमको बाँडफाँट विवरणअनुसार तीन तहका सरकारले करिब चार अर्ब रुपैयाँ प्राप्त गरेका थिए। त्यसमध्ये १५३ स्थानीय तहले करिब ९८ करोड ५० लाख रुपैयाँ पाएका थिए।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार विद्युत् रोयल्टीको ५० प्रतिशत संघीय सरकार, २५ प्रतिशत सम्बन्धित प्रदेश र २५ प्रतिशत सम्बन्धित स्थानीय तहलाई बाँडिन्छ। स्थानीय तहका लागि छुट्याइएको रकम विद्युत् आयोजना सञ्चालनमा रहेका पालिकाबीच वितरण हुन्छ।

पछिल्ला पाँच वर्षमा स्थानीय तहको संयुक्त जलविद्युत् रोयल्टी करिब ३९ प्रतिशतले बढेको छ। पाँच वर्षअघि १२० स्थानीय तहले यस्तो रोयल्टी पाउने गरेकोमा अहिले थप ३३ स्थानीय तह यसमा जोडिएका छन्।

तर आम्दानीको यो बढ्दो स्रोतसँगै जोखिम पनि बढिरहेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले २०८१/८२ मा करिब ११ करोड रुपैयाँ जलविद्युत् रोयल्टी पाएको थियो। त्यसको झण्डै ९६ प्रतिशत हिस्सा माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाबाट आएको थियो।

एकै आयोजनामा निर्भर स्थानीय सरकारका लागि बाढीले आयोजना बन्द गराउनु भनेको आम्दानीको ठूलो स्रोत गुमाउनु हो।

माथिल्लो तामाकोशी आयोजना २०८१ असोजको बाढीपहिरोपछि ८८ दिन पूर्ण रूपमा बन्द हुँदा सरकारले झण्डै तीन करोड रुपैयाँ रोयल्टी गुमाएको थियो। त्यस्तै, बागमती नदी जलविद्युत् आयोजनाको रोयल्टी २०८०/८१ मा एक करोड ७९ लाख ७६ हजार रुपैयाँ रहेकामा बाढीपछि प्रभावित आर्थिक वर्षमा घटेर ६४ लाख ३६ हजार रुपैयाँमा झरेको सरकारी अभिलेखमा देखिन्छ।

जलवायु विपद् र जलविद्युत्माथिको लगानी

भोटेकोशी बाढीले नेपालमा जलविद्युत् आयोजना निर्माणको भौगोलिक जोखिममाथि पनि प्रश्न उठाएको छ। हिमाली क्षेत्रमा हिमताल विस्फोट, चट्टान र हिउँका पहिरो तथा अतिवृष्टिका कारण आउने बाढीले जलविद्युत् आयोजनाका बाँध, विद्युत् गृह, पहुँचमार्ग र प्रसारण लाइनमा क्षति पुर्‍याउने क्रम देखिएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाट सात सञ्चालनमा रहेका जलविद्युत् आयोजना, केही सौर्य आयोजना र प्रसारण लाइन प्रभावित भएका छन्। त्यसबाट करिब ४३० मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ।

तर सरकारले आगामी वर्षहरूमा विद्युत् उत्पादन र निर्यात दुवै बढाउने लक्ष्य राखेको छ। १६औँ योजनाले तीन वर्षभित्र जडित विद्युत् क्षमता १२ हजार मेगावाट पुर्‍याउने लक्ष्य राखेको छ। ऊर्जा विकास मार्गचित्रले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट उत्पादन क्षमता पुर्‍याउने परिकल्पना गरेको छ।

हिमाली भूगोलमा जलवायु परिवर्तनसँगै बढिरहेको जोखिमलाई बेवास्ता गरेर यो लक्ष्य हासिल गर्न खोज्दा त्यसको आर्थिक भार आयोजनाका प्रवर्द्धक, सरकार र स्थानीय समुदाय सबैले व्यहोर्नुपर्ने देखिन्छ।

बाढीले आयोजनाको संरचना भत्काउँदा पुनर्निर्माणमा खर्च बढ्छ, विद्युत् उत्पादन पछाडि धकेलिन्छ, ऋणको ब्याज बढ्छ र सरकारको रोयल्टी आम्दानी घट्छ। स्थानीय सरकारको हकमा भने विपद्पछि सडक, पुल, खानेपानी र बस्ती पुनःस्थापनामा थप खर्च गर्नुपर्ने हुन्छ।

यसरी आम्दानी घट्ने र खर्च बढ्ने दोहोरो दबाब स्थानीय सरकारमाथि पर्छ।

बीमा आयोजनाको, जोखिम स्थानीय सरकारको

जलविद्युत् आयोजनाले संरचनाको बीमा गर्न सक्छन्। बाढीबाट क्षति भए बीमा दाबी गरेर पुनर्निर्माणको लागत जुटाउने सम्भावना रहन्छ। तर आयोजना बन्द हुँदा त्यसबाट रोयल्टी प्राप्त गर्ने स्थानीय सरकारको गुमेको आम्दानीका लागि छुट्टै क्षतिपूर्ति व्यवस्था छैन।

भोटेकोशी बाढीपछि राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत क्षति तथा आवश्यकता मूल्यांकनले ऊर्जा क्षेत्रमा एक खर्ब ५१ अर्ब रुपैयाँ बराबरको क्षति अनुमान गरेको छ। प्रतिवेदनले वार्षिक करिब २९ करोड रुपैयाँ रोयल्टी गुम्ने अनुमानसमेत गरेको छ।

भोटेकोशी–त्रिशूली जलाधार क्षेत्रका चार स्थानीय तहले पुनर्निर्माण नसकिएसम्म वार्षिक सात करोड २२ लाख रुपैयाँ रोयल्टी गुमाउने अनुमान छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पूर्वकार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङ जलविद्युत् रोयल्टी स्थानीय सरकारले आफ्नो प्राथमिकताअनुसार विकास योजना बनाउन सक्ने महत्त्वपूर्ण स्रोत भएको बताउँछन्। यस्तो आम्दानी घट्दा पालिकाले विकास योजना तथा कार्यक्रममा खर्च कटौती गर्नुपर्ने अवस्था आउन सक्छ।

वित्त आयोगले विद्युत् रोयल्टीलाई जलाधार संरक्षण, नदी नियन्त्रण, तल्लो तटीय क्षेत्रको खानेपानी र सिँचाइ, प्रभावित समुदायको हित तथा विपद्पूर्व सावधानी र उद्धारमा उपयोग गर्न सुझाव दिएको छ।

तर जलविद्युत् आयोजना बन्द हुँदा रोयल्टी नै घट्ने र विपद् व्यवस्थापनमा खर्च बढ्ने हो भने जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारले गर्ने लगानीसमेत कमजोर हुन सक्छ।

रसुवागढी हाइड्रोपावरको कम्पनी सचिवले क्षतिग्रस्त संरचनाको बीमा चालु रहेको जानकारी सम्बन्धित निकायलाई गराइसकेका छन्। तर त्यही आयोजनाबाट रोयल्टी पाउने आमाछोदिङ्मो गाउँपालिकाले गुमेको आम्दानीको क्षतिपूर्ति कहाँबाट पाउने भन्ने प्रश्न अझै अनुत्तरित छ।

आयोजनाको बीमा गरेर संरचना पुनर्निर्माण गर्न सकिएला, तर आयोजना बन्द हुँदा स्थानीय सरकारको बजेटमा परेको भ्वाङ कसले टालिदिने ?