विवाह बन्धनमा बाँधिँदै गृहमन्त्री सुधन गुरुङ

Image

गृहमन्त्री सुधन गुरुङ यसै मंसिर महिनामा विवाह बन्धनमा बाँधिने भएका छन्। उनले परम्परागत सामाजिक रीतिरिवाजअनुसार विवाह गर्ने तयारी गरेका हुन्। गुरुङको विवाह गोरखाकी युवतीसँग हुन लागेको हो । ती युवती विदेशमा बस्दै आएकी र त्यहाँको नागरिकता त्यागेर नेपाल फर्किएकी हुन्।

सम्भवतः मंसिर २५ गतेअघि नै विवाह हुन सक्ने स्रोतले जनाएको छ । गुरुङले केही वर्षअघि नै कानुनी विवाह गरिसकेको र अहिले सामाजिक तथा सांस्कृतिक परम्पराअनुसार विवाह गर्न लागेको बताइएको छ। मंसिर १७ वा १८ गते विवाह समारोह आयोजना हुन सक्ने स्रोतको भनाइ छ।

गुरुङको गृहजिल्ला गोरखामा दुवै परिवारका सदस्य तथा आफन्तको उपस्थितिमा विवाह समारोह आयोजना गर्ने तयारी रहेको बताइएको छ।

निकटस्थहरूका अनुसार गुरुङले करिब सात–आठ वर्षअघि नै अदालतमा कानुनी विवाह गरेका थिए। त्यसपछि उनकी पत्नी अमेरिका गएकी थिइन्। केही समयअघि मात्रै उनले अमेरिकाको बसाइँ स्थायी रूपमा त्यागेर नेपाल फर्किएको स्रोतको दाबी छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेताहरूको विवाहले पनि पछिल्लो समय चर्चा पाएको छ। बिहीबार पार्टीकी सहमहामन्त्री निशा डाँगी र पूर्वमहामन्त्री मुकुल ढकालले झापामा विवाह गरेका छन्।

त्यस्तै, केही दिनअघि रास्वपाकी सांसद अप्सना बानुले पनि विवाह गरेको जानकारी उनीनिकट नेताहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

विवाहका लागि गृहमन्त्री गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निम्तोसमेत दिइसकेका छन्। बुधबार लामिछानेलाई उनकै निवासमा पुगेर भेटेका गुरुङले विवाहमा उपस्थितिका लागि निमन्त्रणा गरेको बताइएको छ।

त्यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई पनि विवाहमा निम्त्याउने उनको तयारी छ।