सिन्धुलीमा जीप खस्दा पाँचजना घाइते

Image

सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । आइतबार (मंसिर १३) दिउँसो करिब १ः१५ बजे दुधौली नगरपालिका–३, झुंगास्थित मदन भण्डारी राजमार्गमा बा.प्र.०१–०२८ च २७८३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जीप काठमाडौंबाट सुनसरीतर्फ जाँदै थियो । जीप अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा जीपका चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–८ का ४२ वर्षीय मातृका भट्टराई, उनकी श्रीमती ३८ वर्षीया प्रमिला, छोरा आठ वर्षीय आयन्स, सोही ठाउँकी ४० वर्षीया रेनुका सुवेदी भट्टराई र उनका छोरा १३ वर्षीय अतर्व छन् । घाइतेमध्ये चालक भट्टराईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापश्चात् उद्धार गरी उपचारका निम्ति घाइतेहरूलाई जिल्ला अस्पताल सिन्धुली पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।