सुकुमवासीहरू विरोधमा उत्रिएपछि होल्डिङ सेन्टरमा फेरि खानाको व्यवस्था

Image

भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको भवनमा आश्रय लिएर बसेका सुकुमवासीहरूका लागि पुनः खानाको व्यवस्था सुरु गरिएको छ ।

प्रशासनले शुक्रबार दिउँसो २ बजेसम्म अस्थायी सेल्टर खाली गर्न निर्देशन दिए पनि सुकुमवासीहरूले स्थायी बसोबासको व्यवस्था नभएसम्म भवन नछाड्ने अडान लिएका छन् । सरकारको निर्देशनको विरोध गर्दै उनीहरू थाल ठटाएर प्रदर्शनमा समेत उत्रिएका थिए ।

बल प्रयोग नगरी सुकुमवासीलाई हटाउने उद्देश्यले प्रशासनले खानाको व्यवस्था रोकेको बताइएको छ । सरकारका तर्फबाट उपलब्ध गराउँदै आएको खाना दशैँदेखि नै बन्द भएको र शान्ति सेवा गृह नामक संस्थाले उपलब्ध गराउँदै आएको खाना पनि पछिल्ला केही दिनयता रोकिएको सुकुमवासीहरूको भनाइ छ ।

संस्थाले समेत खाना दिन बन्द गरेपछि शुक्रबार जेनजी अगुवाहरूले सुकुमवासीका लागि खानाको व्यवस्था गरेका थिए । शनिबारदेखि भने पुनः खाना वितरण सुरु गरिएको छ ।

सेल्टरमा बस्दै आएका झवललाल उराउका अनुसार दशैँदेखि सरकारले खाना उपलब्ध गराएको थिएन । संस्थाले दिँदै आएको खाना पनि रोकिएपछि उनीहरूले विरोध गरेका थिए ।

बोडेस्थित कृषि विकास बैंकको भवनमा हाल १९ परिवारका ५७ जना सुकुमवासी बस्दै आएका छन् । तीमध्ये सात परिवार भूमिहीन नभएको सरकारको दाबी छ । भूमिहीन नदेखिएका तथा जग्गा नभएका व्यक्तिहरूलाई सम्बन्धित पालिकाबाट निस्सा उपलब्ध गराउन प्रशासनले निर्देशन दिँदै सेल्टर खाली गर्न उर्दी जारी गरेको थियो ।

तर, सुकुमवासी अगुवा उराउले सरकारले जग्गा रहेको दाबी गरेका व्यक्तिहरूको वास्तविक रूपमा जग्गा नभएको बताएका छन् । सरकारले रौतहटका एक व्यक्तिको झापामा जग्गा रहेको अभिलेख देखाए पनि झापा पुग्दा त्यहाँ जग्गा नभेटिएको उनको भनाइ छ ।

यसैबीच, सुकुमवासीहरूको अवस्था बुझ्न भूमि व्यवस्था मन्त्री प्रतिभा रावल शनिबार बोडेस्थित सेल्टरमा पुगेकी थिइन् । भेटका क्रममा आफूहरूले स्थायी बसोबासको व्यवस्था नभएसम्म सेल्टर खाली गर्न नसक्ने अडान राखेको उराउले बताए ।

यता, खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा आश्रय लिएर बसेका सुकुमवासीहरूलाई पनि शान्ति सेवा गृहले नै खाना उपलब्ध गराउँदै आएको बताइएको छ ।