आज (बुधबार) संसद्का दुवै सदनका बैठक बस्दैछन्। संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे सुरु हुनेछन्।
आज प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौतामा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
यसैगरी कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ मा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
सम्भावित कार्यसूचीअनुसार आज प्रतिनिधि सभाको बैठकमा ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
यसैगरी आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे उठेका प्रश्नमा अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने सम्भावित कार्यसूची छ।















