चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ आज (सोमबार) देखि खुला भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता ईश्वरी पनेरुले आजदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गर्ने जानकारी दिए ।
सार्वजनिक यातायात सेवा प्रदायकहरूले चाडपर्व लक्षित गरी यातायात सहजताका लागि सो टिकट बुकिङ खुला गरेका हुन् । यसवर्ष दसैँको लागि भाडा वृद्धि नगरी पुरानै भाडामा टिकट बिक्री गर्न यातायात व्यवसायी सहमत भएका छन्।
उनले यातायात व्यवसायीले अग्रिम टिकटका लागि यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।
यसका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ल्होत्से बहुउद्देश्य प्रा. लि., उपभोक्ता सम्बद्ध संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने, गराउने र यात्रुले समेत सवारीमा मादक पदार्थ सेवन गरी यात्रा गर्न नहुने उनले बताए ।
उनका अनुसार सवारी चालकले यात्रुलाई खानारखाजा खुवाउने स्थानमा भिडभाड गर्न नहुने, अनधिकृत काउन्टर, परिचयपत्र, पोसाक नभएका व्यक्तिहरूबाट टिकट बिक्री गर्ने कार्य पूर्णतयास् नियन्त्रण गर्ने, गराउने व्यवस्था मिलाइएको छ । मुख्य सडकलाई मर्मत, सम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन विभागले सम्बन्धित निकायलाई अनुरोध पनि गरेको छ ।
यस्तै, नेपाल यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार काठमाडौँ नयाँ बसपार्क गोङ्गबुको टिकट काउण्टरमा पोसाक, परिचयपत्रसहितका व्यक्तिहरू यातायात सहजताका लागि खडा हुने बताए । यसका साथै हेल्प डेस्क पनि राखिने जानकारी उनले दिएका छन् ।
कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाटै कडा अनुगमन थालिने जनाएको छ। काठमाडौं उपत्यकाबाट दसैँको समयमा २० लाख यात्रु बाहिरिने गरेको विगतको तथ्यांक रहेको छ।