दुर्गा प्रसाईका बडिगार्ड पक्राउबारे सर्वोच्च अदालतले सरकारसँग माग्यो जवाफ

व्यवसायी दुर्गा प्रसाईंका दुईजना बडिगार्ड पक्राउ प्रकरणमा सर्वोच्च अदालतले सरकारसँग ३ दिनभित्र लिखित जवाफ दिन भनेको छ । सोमबार सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका २ जना बडिगार्डलाई मुद्दा चलाउन मंगलबार जिल्ला अदालत, काठमाडौंले ५ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ ।

ती बडिगार्डको तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सारंगा सुवेदीको इजलासले सरकारसँग कारण माग गरेको हो । पक्राउ परेका रामकुमार धिमालको हकमा रिया राजवंशीले गृह मन्त्रालय सिंहदरबारसहित विभिन्न ७ वटा सरकारी निकायलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

उता पक्राउ परेका अर्का बडिगार्ड दीपक खड्काको हकमा श्रीमती शान्ता खड्काले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिटमा पनि न्यायाधीश महेश शर्मा पौडेलले ३ दिनभित्र लिखित जवाफ दिन सरकारलाई आदेश दिएका छन् ।

ती दुईजना सोमबार सर्वोच्च अदालत परिसरबाट जर्मनीमा निर्मित अत्याधुनिक हतियारसहित पक्राउ परेका थिए । सर्वोच्च अदालतभित्र उनीहरू हतियार लिएर प्रवेश गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । दुर्गा प्रसाईंको मुद्दामा सुनुवाइ भइरहेका बेला उनका साथमा सहयोगीहरूको हुल नै थियो ।