कालीकोटमा डढेलोमा परेर बाबु-छोरीको मृत्यु, ४५ वटा बाख्रा पनि जले

कालीकोटको खाडाचक्र- ५ ढाडगाउँको वनमा लागेको डढेलोमा परेर बाबु छोरीको मृत्यु भएको छ ।

स्थानीय नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए ।

उनीहरुलाई उपचारको लागि गएको शनिबार साँझ हेलिकोप्टरबाट सुर्खेत लगिएको थियो। छोरीको सोमबार दिउँसो र बुवाको बुधबार मृत्यु भएको हो ।

आगोमा जलेर गम्भीर घाइते भएका चौलागाईंको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि छोरीको पनि सोही अस्पतालमा मृत्यु भएको थियो ।

जंगलमा बाख्रा चराउन गएको बेला उनीहरु डढेलोमा परेका हुन् । चौलागाईंका ४५ वटा बाख्रा पनि जलेर मरेका स्थानीयले बताएका छन् ।