सीआईबीको सम्पर्कमा आएका विनोद चौधरीको बयान जारी 

बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिन सुरु भएको छ । सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान ८ बजेदेखि चौधरीको बयान लिने क्रम जारी रहेको स्रोतले बतायो ।

आज बिहान सिआईबीको सम्पर्कमा आएका उनलाई सरकारी वकिलको समन्वयमा बयान थालिएको हो । उनी आफैं बिहान सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका थिए ।

यसअघि सभामुख देवराज घिमिरेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पत्र लेखेर चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।

त्यसलगत्तै बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा उनको बयान लिन थालिएको हो ।

बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता भएको १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा स्वामित्व हस्तान्तरण भएको विषयमा अनुसन्धान थालिएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी श्याम ज्ञवालीले पनि चौधरीको बयान जारी रहेको बताए । उनले बयान सकिएपछि के हुन्छ भन्नेबारेमा अहिले केही बताउन नसकिने जानकारी गराए ।