सुन प्रकरणमा पक्राउ परेका महरासँग आज पनि बयान लिइने

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ ।

चैत ५ गते कपिलवस्तुबाट पक्राउ परेका महरामाथि बुधबारदेखि बयान सुरू भएको थियो । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले महरासँगको बयान आज पनि जारी रहने जानकारी दिए ।

महरालाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको छ ।

अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ ।

आज बयान नसकिए पुन म्याद थप गरिने सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करी प्रकरणमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको छ । त्यसबेला सिआइबीले उनीसँग बयान कागज गरेर मात्रै छाडेको थियो ।

यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षका लागि थुनामा छन् ।