काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प सिलबन्दी गरिएको छ ।
प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर एवं नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य विभाग, वाणिज्य आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा उपभोक्तालाई कम परिमाणमा पेट्रोल बिक्री गरेको पाइएपछि सिल गरिएको हो ।
यसअघि मंगलबार मात्रै अनुगमन क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्याली बाबा सप्लायर्समा सिल गरिएको थियो ।
बुधबार गरिएको अनुगमन क्रममा सोही प्रकृतिको ठगी गरेर उपभोक्तालाई कम परिमाणमा डिजेल दिएको भन्दै सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वम्भूस्थित हलचोक फ्युल सेन्टर पम्प र कलंकीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारबाट अनुगमनमा खटिएका प्रधुम्न उपाध्ययले बताए ।
‘एपीएफको हलचोक पेट्रोल पम्पमा तीनवटा मध्ये एउटा नोजल सिल गरिएको हो’ उनले भने ।
सशस्त्र प्रहरीले भने प्राविधिक समस्या आएकोले भोलि प्राविधकि आएर समस्या समाधान गर्ने बताएको छ ।
र्यापिड रेस्पोन्स टिमले मिटर बिगारेर मूल्यभन्दा कम परिमाणमा उपभोक्तालाई पेट्रोल बिक्री गरेको आरोपमा पम्पमा सिल गरेको जनाएको छ ।