देशैभरको तापक्रम घट्ने क्रममा, कति छ काठमाडौँमा ?

हिजोआज देशैभर तापक्रम घट्दै तथा चिसो बढ्दै गएको छ । काठमाडौँ उपत्यकामा बिहान–बेलुका जाडो हुन थालिसकेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले काठमाडौँ उपत्यकासहित देशभर नै विस्तारै तापक्रम घट्दो क्रममा रहेको बताए ।

यसै क्रममा आज जुम्लाको न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियसमा झरेको छ । देशभरमा सबैभन्दा कम तापक्रम पनि यही हो ।

मौसम महाशाखाको रेकर्डअनुसार अक्टोबर १ तारिख अर्थात् १८ दिनअघि जुम्लाको न्यूनतम तापक्रम १३.४ डिग्री थियो ।

यस्तै आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियसमा झरेको छ । बुधबार उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री थियो ।