दूरसञ्चार प्राधिकरणद्वारा दुई इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले ई–मेलसहितको इन्टरनेट सेवाका लागि अनुमति प्राप्त दुई कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।

नविकरणका लागि समयावधिभित्र निवेदन पेश नगरेपछि नियामकले इन्टरनेट (ई–मेलसहित) सेवाको अनुमति पाएका गल्कोट लिंक प्रा. लि., बागलुङ र सुर्खेत केबल नेट टिभी प्रा. लि., सुर्खेतको अनुमतिपत्र खारेज गरेको हो ।

प्राधिकरणका अनुसार दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) अनुसार यी सेवाप्रदायकको अनमतिपत्र स्वतः खारेज भएको छ ।

साथै ती कम्पनीहरुलाई नियमानुसार तिर्न र बुझाउन पर्ने रकमका सम्बन्धमा ३० दिनभित्र प्राधिकरणको कार्यालयमा सम्पर्क राख्न पनि भनिएको छ । अन्यथा प्रचलित कानुनअनुसार कारबाही अगाडि बढाइने प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले जनाएको छ ।