एसियन बैंकर्स एसोसिएसन (एबीए)का अध्यक्ष युजेन एस एसेभेडोले बजारमा माग बढेरभन्दा पनि आपूर्ति शृंखला अवरोध हुँदा महँगी बढेको बताएका छन् ।
काठमाडौंमा जारी ३९औं एसियन बैंकर्स एसोसिएसन जनरल मिटिङ एन्ड कन्फ्रेन्सका क्रममा आयोजित पत्रकार सम्मेलनमा एबीए अध्यक्ष एसेभेडोले भने, ‘आपूर्ति शृंखला अवरोध हुँदा महँगी बढेको हो, महँगी बढेका कारण ब्याजदर बढेको हो ।’
महँगी नियन्त्रण गर्न मौद्रिकसँगै गैरमौद्रिक औजार प्रयोग गर्नुपर्ने सुझाव उनले दिए । आगामी दिनमा क्रमश ब्याजदर घट्दै जाने उनको विश्वास छ ।
एबीए अध्यक्ष एसेभेडोले सबैसँग व्यावसायिक सीप नहुने भएकाले वैदेशिक रोजगारीमा गएकालाई उद्यमी तालिम दिनुपर्ने धारणा राखे । । रेमिट्यान्समा निर्भर देश सधैं समस्यामा हुने उनको भनाइ छ ।
एनबीएले धेरै कर्जा लिनु हुँदैन भन्ने सन्देश दिने र बढ्दो खराब कर्जाले कुनै पनि संस्थालाई सुधार गर्नुपर्ने संकेत गर्ने उनले बताए । ‘कोरोना महामारीका क्रममा कयौं व्यवसाय बन्द भएका कारण खराब कर्जा बढेको हो,’ एसेभेडोले भने ।
पत्रकार सम्मेलनमा एसेभेडोले कोरोनाभन्दा अगाडि नै व्यवसाय खराब अवस्थामा रहेकालाई अहिले पनि रिकभर गर्न कठिन हुने बताए । ‘कोरोनाले गर्दा व्यवसाय खराब भएकाहरूलाई भने बैंकले पनि सहयोग गर्नुपर्छ,’ उनले भने, ‘तबमात्र उनीहरुको व्यवसाय क्रमशस् सुधार हुन्छ ।’
बजारमा हुने मागका आधारमा बैंकले लगानी गर्ने एसेभेडोले स्पष्ट पारे । ‘एसियन बैंकिङः रोडम्याप फर रिकभरी एन्ड सस्टेन्ड ग्रोथ’ विषयक सम्मेलनमा एबीएका सदस्य बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले अनुभव आदानप्रदान गर्नुका साथै विविध विषयमा विचार विमर्श गर्नेछन् । सम्मेलन शुक्रबारसम्म चल्नेछ ।














