सर्वोच्च अदालतले एनसेलसँग लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतले सुनुवाइ गर्दै विपक्षीको नाममा लिखित जवाफ पेश गर्न आदेश जारी गरेका हुन् ।
‘निवेदकले अन्तरिम आदेश माग गरेको सन्दर्भमा दुबै पक्षलाई राखेर छलफल गराउन उपयुक्त देखिएको हुँदा त्यसका लागि पुस १६ गतेको पेशी तोकी पेश गर्नू,’ आदेशमा भनिएको छ।
अन्तरिम आदेश जारी गर्नुपर्नेरनपर्ने विषयमा छलफल गर्न विपक्षी एनसेल, आजियाटा र नेपाल दूरसञ्चार प्राधिकरण आफैं वा कानुन व्यवसायी वा महान्यायाधिवक्ता कार्यालयमार्फत् इजलासमा हाजिर हुन समेत अदालतले आदेश दिएको छ।
मलेसियन कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गर्दा कर छली गरेको भन्दै सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा परमादेश माग गर्दै रिट दायर गरेका थिए।













