बूढानीलकण्ठ नगरपालिका १ का वडाध्यक्ष सुरेन्द्र लामाले आफू दास्रो कार्यकालका लागि वडाध्यक्षको रुपमा निर्वाचित भएपछि वडाभित्रका आन्तरिक पर्यटकीयस्थल र खानेपानीलाई विशेष ध्यान दिएको बताएका छन् । टिभी अन्नपूर्णसँग भएको कुराकानीका क्रममा वडाध्यक्ष लामाले यस्तो बताएका हुन् ।
दोस्रो कार्यकालका लागि निर्वाचित लामाले अघिल्लो कार्यकालमा थालनी गरेका कार्यलाई निरन्तरता दिनुका साथै वडाको आन्तरिक र पर्यटन र खानेपानीलाई विशेष प्रथमिकतामा बताए । ‘यो कार्यकालमा पर्यटन पूर्वाधारलाई जोड दिने खालका कामलाई अघि बढाएको छु । वडाको शिरमा डुकुने सामुदायिक वन छ । जहाँ चौकी डाँडामा पर्यटन पार्कको निर्माणका लागि कार्ययोजना अघि बढाइएको छ । यस पार्ककका लागि डिपिआर तयार भइसकेको छ । बजेट पनि विनियोजन गरिएको छ । जहाँ हामी बुद्धको भूगोलअनुसारको सुहाउने प्रतीमा बनाउँदै छौँ । तर, राष्ट्रिय निकुञ्जसँग जोडिएकाले काम गर्न अलि जटिल छ । अहिले देखिने र ठूलो काम यही चलिरहेको छ,’ उनले भने ।
यस्तै बूनपा १ ले खानेपानीलाई विशेष जोड दिएको पनि लामाले बताए । अघिल्लै कार्यकालमा सुरुवात भएको सुरु भएको सो खानेपानी आयोजना निर्माण सम्पन्नसँगै करिब २०० घरधुरी लाभान्वित हुने उनले बताए । उनले भने, ‘सो आयोजनाका लागि ट्याङ्की अघिल्लै कार्यकालमा बनाइएको छ । तर, त्यसलाई आवश्यक पर्ने पाइपलाइनहरुको व्यवस्थापन कार्य चलिरहेको छ ।’ राष्ट्रिय निकुञ्ज घुम्न आन्तरिक र बाह्य पर्यटक आउने गरे पनि वडाका अन्य स्थलमा खासै पर्यटकको आगमन नहुने गरेको उनले बताए । यद्यपि राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक वडाका अन्य स्थलमा घुम्नलायक स्थल बनाउन लागेको उनको भनाइ छ ।














