काठमाडौंका मुख्य पाँच वटा स्थल आगामी दुई महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै राष्ट्रपति कार्यालय शीतल निवासदेखि प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद भवन, सिंहदरबार हुँदै उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मलाई दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो ।
सुरक्षा संवेदनशीलता र सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ ।
यी क्षेत्रमा निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।
















