महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ । उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२-००२-०००१झ०००५ नम्बरको सरकारी गाडीमा आगजानी भएको हो ।
गौशाला नगरपालिका-१ रामनगरमा उपमेयरकै घरको दरबाजामा पार्किङ गरेर राखिएको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर अगो लगाएका हुन् । समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयले आगो निभाएपछि क्षति हुनबाटा जोगिएको हो ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरिक्षक मनोज यादवका अनुसार आगजानीबाट गाडीको टायर लगायतका केही भागमा आंशिक क्षति भएको छ ।
‘गाडीमा कसले र किन आगो लगाएको खुलेको छैन । पेट्रोल छर्किएर आगो लगाएको देखिएको छ । घटनास्थलबाट एउटा बोतल समेत बरामद भएको छ,’ प्रहरी निरीक्षक यादवले भने । घटनाबारे थप थप अनुसन्धान भइरहेको उनले बताए ।
उपमेयर महतोले पालिकामा भ्रष्टाचारको विरोध गरेको कतिपय जनप्रतिनिधिलाई मन नपरेर उनीहरुकै योजनामा गाडीमा आगजनी गरिएको आरोप लगाएकी छन् ।
‘भ्रष्टाचार गर्ने र गराउनेको विरुद्धमा हुने हरेक आन्दोलनमा सक्रिय हुन्छु । यो निच काम कसैले गरेको मलाई धम्क्याउन खोजेको भान भैसकेको छ । तर यस्तो हर्कतले डराउँदिने । थप सशक्त भएर लाग्छु,’ उनले भनिन् ।














