पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार रातिदेखि देशभर वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगजर्न चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज सबैभन्दा बढी नेपालगञ्जमा ६४, वीरेन्द्रनगरमा ५२, जुम्लामा ५० मिलिमिटर वर्षा भएको छ । त्यस्तै घोराहीमा ३३, भैरहवामा ३०, पोखरामा २९, ओखलढुंगामा २२ र जनकपुरमा १८ मिलिमिटर वर्षा भएको छ ।
मौसम विभागका अनुसार काठमाडौँमा ४१ मिलिमिटर वर्षा भएको छ । बदली र वर्षासँगै उपत्यकाका उच्च डाँडामा हल्का हिमपात भएको छ । फुल्चोकी, चन्द्रागिरी, शिवपुरी, नगरकोटलगायतका अग्ला डाँडामा हिमपात भएको छ ।
यो क्रम रातभर रहने मौसमविद्को भनाइ छ । जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय देखिएकोले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । उनका अनुसार दिउँसो जस्तै रातिको अवस्था हुने छ ।
यस्तै हिमपातका कारण देशका उच्च तथा पहाडी जिल्लाहरुमा जनजिवन कष्टकर बनेको छ । साथै विभिन्न स्थानमा यातायात अवरुद्ध भएको छ । मुस्ताङ, मनाङ, बैतडी, म्याग्दी, डोटी, रुकुम, जाजरकोट, डडेल्धुरा, जुम्लालगायतका स्थानमा भारी हिमपातका कारण जनजिवन प्रभावित हुनुका साथै यातायात अवरुद्ध भएको छ । केही स्थानमा विद्युत् अवरुद्धसमेत भएको छ ।
त्यस्तै मधेश प्रदेशमा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीले च्यापिएर तीन जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार हावाहुरीले धनुषाको सबैला नगरपालिका—१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको छ ।
त्यसैगरि रौतहटको बौधीमाई नगरपालिका—१ स्थित इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
मौसम विभागका अनुसार भोलि दिउँसोबाट मौसममा केही सुधार हुने सम्भावना रहेको छ ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । साथै आइतबारबाट भने देशभर आंशिक बदली देखि मौसम सफा रहनेछ ।














